नेकपा एमाले पुनर्गठन कार्यदलको प्रतिवेदन तयार गर्ने जिम्मेवारी कार्यदलका संयोजक तथा पार्टी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र सदस्य–सचिव तथा पार्टी महासचिव शङ्कर पोखरेललाई दिइएको छ ।
बिहीबार बसेको कार्यदलको बैठकले मस्यौदा प्रतिवेदन तयार गर्ने जिम्मेवारी थापा र पोखरेललाई दिएको एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए । कार्यदलले देशका विभिन्न १३ स्थानमा छलफल कार्यक्रम सञ्चालन गर्दै पार्टीपंक्तिबाट सुझाव संकलन गरेको थियो। अब प्राप्त सुझावलाई एकीकृत गरी प्रतिवेदन तयार गरिने जनाइएको छ ।
कार्यदलका सदस्यहरूका अनुसार पार्टीका ८७ प्रतिशतभन्दा बढी सदस्यले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्वबाट अलग हुनुपर्ने धारणा व्यक्त गरेका छन् । ओली नेतृत्वमा रहने वा नरहने विषयमा निष्कर्षसहितको प्रतिवेदन तयार गर्ने जिम्मा थापा र पोखरेललाई दिइएको हो ।
उपाध्यक्ष थापा वर्तमान नेतृत्वको पक्षमा रहेको बताइन्छ भने महासचिव पोखरेल नेतृत्वसहित पार्टी पुनर्गठनको पक्षमा रहेको कार्यदल स्रोतको भनाइ छ ।
यसैबीच, बैठकले सुझाव संकलनको कार्यमा व्यस्त रहेका बेला पार्टीका उपाध्यक्ष तथा कार्यदल सदस्य विष्णु पौडेललाई राजनीतिक प्रतिशोधपूर्ण ढङ्गले पक्राउ गरिएको भन्दै त्यसको निन्दा गरेको छ । बैठकले पौडेलको यथाशीघ्र रिहाइको समेत माग गरेको छ ।