सर्लाहीको पर्सा गाउँपालिकामा राँगाले हानेर मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ ।
पर्सा गाउँपालिका–१, शितलपुरमा शुक्रबार मध्यान्ह भएको घटनामा हरिपुर्वा नगरपालिका–४, डुमरियाकी ४० वर्षीया पुनमकुमारी साहको मृत्यु भएको हो । श्रीमान् सत्यनारायण साह र नौ वर्षीया छोरीसँगै मोटरसाइकलमा सवार भएर हुलाकी सडक हुँदै महोत्तरीतर्फ जाँदै गर्दा सडकमा हिँडिरहेको राँगाले मोटरसाइकलमा पछाडि बसेकी पुनमकुमारीलाई हानेको थियो ।
राँगाको ठक्करबाट उछिट्टिएर सडकमा लडेकी साहलाई उपचारका लागि महोत्तरीस्थित अस्पताल लगिएको थियो । तर चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले जानकारी दिनुभयो ।
मृतक साहको शव महोत्तरीस्थित अस्पतालमा राखिएको प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकल चालक श्रीमान् सत्यनारायण साह र छोरी बन्दनाकुमारी साह भने सुरक्षित रहेका छन् ।