वीरगंज महानगरपालिका–३१ सोलखपुरमा निर्माण सम्पन्न भएको आधुनिक छठीघाटको शुक्रबार भव्य समारोहका बीच उद्घाटन गरिएको छ । वडा कार्यालयको विनियोजित बजेट तथा वीरगंज महानगरपालिकाको नगरस्तरीय थप बजेटको संयुक्त लगानीमा निर्माण गरिएको छठीघाटको कार्यवाहक नगर प्रमुख इम्तियाज आलमले उद्घाटन गरेका हुन् ।
छठीघाट व्यवस्थापन समिति र सोलखपुर गाउँवासीको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा कार्यवाहक नगर प्रमुख आलमले रिबन काटेर तथा शिलालेख अनावरण गरी छठीघाटको औपचारिक उद्घाटन गरेका थिए ।
कार्यक्रम वीरगंज महानगरपालिका–३१ का वडा अध्यक्ष जितेन्द्र प्रसाद यादवको अध्यक्षतामा सम्पन्न भएको थियो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै कार्यवाहक नगर प्रमुख आलमले महानगरभित्र रहेका धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाको संरक्षण र विकासलाई महानगरपालिकाले उच्च प्राथमिकतामा राखेको बताए ।
उनले स्थानीय उपभोक्ता समिति, वडा कार्यालय तथा स्थानीयवासीको सक्रिय सहभागिताका कारण निर्माण कार्य समयमै र गुणस्तरीय रूपमा सम्पन्न भएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता पूर्वाधार निर्माणलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रमका अध्यक्ष एवं वडा अध्यक्ष यादवले वडा कार्यालयको बजेट तथा महानगरपालिकाको थप आर्थिक सहयोगबाट सोलखपुरवासीको लामो समयदेखिको सपना पूरा भएको बताए। उनले आगामी दिनमा वडाका अन्य विकास निर्माणका योजनालाई पनि प्राथमिकताका साथ अगाडि बढाइने जानकारी दिए ।
उद्घाटन कार्यक्रममा जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, भद्रभलाद्मी तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो ।

