राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सञ्चारमाध्यम र पत्रकारलाई लक्षित गर्दै त्रासको वातावरण सिर्जना गर्ने कुनै पनि गतिविधि लोकतान्त्रिक मूल्य–मान्यता विपरीत भएको भन्दै त्यस्ता कार्यप्रति गम्भीर आपत्ति जनाएको छ ।
रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले सोमबार जारी गरेको विज्ञप्तिमा विभिन्न सञ्चारमाध्यमका कार्यालय बाहिर शंकास्पद ढंगले सवारीसाधन राखिएको घटनाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।
विज्ञप्तिमा सूचना तथा सञ्चार स्वतन्त्रता हनन गर्ने, सञ्चार गृहहरूमा डर र त्रासको वातावरण सिर्जना गर्ने तथा लोकतन्त्रको चौथो अंगका रूपमा स्थापित आमसञ्चारमाध्यमलाई संकुचित पार्ने उद्देश्यले गरिने कुनै पनि गतिविधि पार्टीलाई किमार्थ स्वीकार्य नहुने स्पष्ट पारिएको छ ।
रास्वपाले सञ्चारमाध्यम र सञ्चारकर्मीहरूलाई मनोवैज्ञानिक दबाबमा राख्ने वा निर्भीक रूपमा काम गर्न नदिने आशयले गरिएका यस्ता शंकास्पद तथा रहस्यमय गतिविधि लोकतान्त्रिक अभ्यासमाथिको ठाडो हस्तक्षेप भएको जनाएको छ । पार्टीले स्वतन्त्र पत्रकारिता, प्रेस स्वतन्त्रता र नागरिकको सुसूचित हुन पाउने मौलिक अधिकारको पक्षमा आफू सधैं दृढतापूर्वक उभिँदै आएको पनि जनाएको छ ।
विज्ञप्तिमा लोकतान्त्रिक व्यवस्था सुदृढ बनाउन स्वतन्त्र र निर्भीक पत्रकारिताको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै प्रेस क्षेत्रलाई त्रसित बनाउने उद्देश्यबाट प्रेरित कुनै पनि गतिविधिको भर्त्सना गरिएको छ ।
रास्वपाले घटनाको तत्काल निष्पक्ष, पारदर्शी र सत्यतथ्य छानबिन गर्न नेपाल सरकार, गृह मन्त्रालय तथा सम्बन्धित सुरक्षा निकायसँग माग गरेको छ । साथै, सञ्चारमाध्यम र पत्रकारहरूको भौतिक तथा मनोवैज्ञानिक सुरक्षा सुनिश्चित गर्न र यस्ता गतिविधिमा संलग्न जोसुकै व्यक्तिको पहिचान गरी कानुनबमोजिम कारबाही गर्न पनि आग्रह गरेको छ ।
पार्टीले लोकतान्त्रिक समाजमा प्रेस स्वतन्त्रताको रक्षा सबै पक्षको साझा जिम्मेवारी भएको उल्लेख गर्दै सञ्चार क्षेत्रमाथि हुने कुनै पनि प्रकारको दबाब, धम्की वा त्रास सिर्जना गर्ने गतिविधिविरुद्ध सशक्त रूपमा उभिने प्रतिबद्धता व्यक्त गरेको छ ।