कपिलवस्तुको शिवराज नगरपालिका–३ चन्द्रौटामा एक कारले साइकललाई ठक्कर दिएपछि फरार हुने क्रममा अन्य दुईवटा अटो र एउटा मोटरसाइकललाई समेत ठक्कर दिँदा १३ जना घाइते भएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी निरीक्षक राजन ढकालका अनुसार बा १४ च ९००० नम्बरको कारले सशस्त्र प्रहरीको जाँचचौकी (चेकपोस्ट) अगाडि एक साइकललाई ठक्कर दिएको थियो। त्यसपछि चालक घटनास्थलबाट भाग्ने प्रयास गर्ने क्रममा करिब ३०० मिटर अगाडि रहेको खसी बजार चोकमा पुगेपछि दुईवटा अटो र एउटा मोटरसाइकललाई पुनः ठक्कर दिएको हो ।
दुर्घटनामा लु १ ह १९३ र रा १ ह ६६४३ नम्बरका अटोमा सवार यात्रुसहित अन्य गरी १३ जना घाइते भएका छन् । घाइतेहरूको शिवराजस्थित सञ्जीवनी अस्पतालमा उपचार भइरहेको अस्पताल प्रशासनले जनाएको छ । प्रहरीका अनुसार घाइतेहरूको अवस्था र परिचय खुल्ने क्रम जारी रहेको छ। घटनापछि कार र चालकलाई नियन्त्रणमा लिइएको तथा दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले तीव्र गतिमा सवारीसाधन चलाउँदा यस्ता दुर्घटना हुने जोखिम बढ्ने भएकाले ट्राफिक नियमको पालना गर्न सबै चालकलाई आग्रह गरेको छ ।