प्रदूषण नियन्त्रण नगरेको भन्दै हुलास स्टिल, गणपति तेल उद्योग र नन्दन घ्यू प्रालि गरी तिनवटा उधोगलाई १० लाख रुपैयाँ जरिवाना, प्रदूषण नियन्त्रण गर्न जीतपुरसिमरा उपमहानगर निर्देशन ।
वीरगंज पथलैया औद्योगिक करिडोरका तीन ठूला उद्योगलाई वातावरण प्रदूषण गरेको भन्दै जीतपुरसिमरा उपमहानगरपालिकाले १० लाख रुपैयाँ जरिवाना गरेको छ । स्थानीयको गुनासो र अनुगमनपछि उपमहानगरपालिकाले पहिलो पटक उद्योगमाथि आर्थिक कारबाही गरेको हो ।
उपमहानगरपालिकाले हुलास स्टिल इन्डस्ट्रिज लिमिटेडलाई ५ लाख रुपैयाँ, गणपति तेल उद्योगलाई २ लाख ५० हजार रुपैयाँ र नन्दन घ्यू तथा आयल इन्डस्ट्रिज प्रालिलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना गरेको जनाएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिका–१ र ३ मा रहेका ती उद्योगबाट निस्किएको औद्योगिक फोहोर, तेलजन्य पदार्थ तथा लेदो सार्वजनिक सडक र आसपासका क्षेत्रमा फैलिएको, फोहोर पानीको उचित व्यवस्थापन नगरेको, कार्यस्थलमा सुरक्षा मापदण्ड पालना नगरेको र स्वीकृत वातावरणीय अध्ययन प्रतिवेदनअनुसार काम नगरेको पाइएपछि कारबाही गरिएको हो ।
उपमहानगरपालिकाको वातावरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख इन्जिनियर पुष्पा सिंहका अनुसार उद्योगहरूलाई यसअघि पटक–पटक पत्राचार गरी सुधार गर्न निर्देशन दिइएको थियो । तर चित्तबुझ्दो जवाफ नआएपछि जरिवाना गर्ने निर्णय गरिएको हो ।
उनका अनुसार उपप्रमुखको संयोजकत्वमा गठित अनुगमन समितिले बुझाएको प्रतिवेदनका आधारमा नगरप्रमुख राजन पौडेलले कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरेका हुन् ।
७ दिनभित्र जरिवाना बुझाउन निर्देशन
उपमहानगरपालिकाले असार २९ गते पत्र पठाउँदै उद्योगहरूलाई ७ दिनभित्र जरिवाना रकम राजस्व खातामा दाखिला गर्न निर्देशन दिएको छ ।
साथै, उद्योगबाट निस्किने फोहोर पानी, तेलजन्य पदार्थ, धुलो, ध्वनि तथा अन्य प्रदूषण नियन्त्रण गर्न, स्वीकृत वातावरणीय अध्ययन प्रतिवेदन कार्यान्वयन गर्न र सुधार गरिएका कामको प्रमाणसहित प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ ।
तोकिएको समयभित्र जरिवाना नबुझाए वा सुधारात्मक कार्य नगरे वातावरण संरक्षण ऐन, वातावरण संरक्षण नियमावली, स्थानीय सरकार सञ्चालन ऐनलगायत प्रचलित कानुनअनुसार थप कारबाही गर्ने चेतावनी उपमहानगरले दिएको छ ।
रसायनयुक्त लेदो पानीले स्थानीय प्रभावित
पछिल्लो समय वर्षासँगै हुलास स्टिल उद्योगबाट निस्किएको रसायनयुक्त लेदो पानी ६ लेन सडकको नालामा मिसिँदा समस्या देखिएको स्थानीयको भनाइ छ । यस्तै गणपति र नन्दन तेल उद्योगबाट निस्किएको तेलजन्य लेदो तथा फोहोर पानी खोलामा मिसाउँदा कृषि सिँचाइ प्रभावित भएको स्थानीयले गुनासो गरेका छन् ।
उद्योगबाट आएको दुर्गन्धित पानीका कारण खेती गर्न समस्या भएको जीतपुरसिमरा–५ का स्थानीय रामकृति सहनीले बताए । उनका अनुसार प्रदूषित पानीका कारण खेतमा काम गर्दा छालामा समस्या देखिने र पशुचौपायासमेत प्रभावित हुने अवस्था आएको छ ।
स्थानीय सुरेश पासवानले उद्योग प्रदूषणको समस्या लामो समयदेखि रहे पनि समाधान हुन नसकेको गुनासो गरे । उनले उद्योग र राजनीतिक नेतृत्वबीच हुने छलफलका कारण समस्या ओझेलमा पर्ने गरेको आरोप समेत लगाएका छन् ।
उद्योगहरू असन्तुष्ट
उद्योगहरूले भने उपमहानगरपालिकाको कारबाहीप्रति असन्तुष्टि जनाएका छन्।
हुलास स्टिलका प्रशासकीय अधिकृत रबिन बरालले जरिवाना तोक्नुको आधार स्पष्ट नभएको भन्दै चित्तबुझ्दो जवाफ आएपछि मात्र थप निर्णय गर्ने बताए ।
गणपति वनस्पति उद्योगका प्रशासकीय अधिकृत दिनेशचन्द्र गिरीले प्रदूषित पानी प्रशोधनका लागि उपकरण जडान गरिसकेको दाबी गर्दै सामाजिक सञ्जालमा आएका सामग्रीका आधारमा कारबाही गरिएको टिप्पणी गरे ।
यसअघि उद्योगबाट निस्किएको रसायनयुक्त पानीले स्थानीय क्षेत्रमा असर गरेको गुनासोपछि गृहमन्त्री सुदन गुरुङले समेत सिमरा पुगेर औद्योगिक क्षेत्रको स्थलगत अनुगमन गरेका थिए ।