सप्तरीको कञ्चनरूप नगरपालिकामा मङ्गलबार छुट्टाछुट्टै स्थानमा एक पुरुष र एक महिला मृत अवस्थामा फेला परेका छन् ।
दुवै जना झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
मृत फेला पर्नेमा कञ्चनरूप नगरपालिका–२ महादेवपट्टीकी २८ वर्षीया आरतीकुमारी राम र कञ्चनरूप नगरपालिका–३ का ३० वर्षीय भरत साह रहेका छन् । प्रहरीका अनुसार आरती आफ्नै सुत्ने कोठामा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । त्यस्तै, भरत साह कञ्चनरूप–३ स्थित झुलुङ्गे पुलमा झुन्डिएको अवस्थामा फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हेमराज धिमिरेका अनुसार दुवै घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।
स्थानीयका अनुसार भरत साह विगत तीन वर्षदेखि सोही क्षेत्रमा घरज्वाइँका रूपमा बस्दै आएका थिए। उनी नजिकै रहेको एक मल्टिरोल फार्ममा मजदुरी गर्दै आएका थिए । प्रहरी टोलीले घटनास्थलको मुचुल्का तयार गरी कानुनी प्रक्रिया पूरा गरेर दुवै शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाएको छ ।
घटनाको कारण खुल्न नसकेको र दुवै घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।