आगामी सेप्टेम्बरमा जापानमा आयोजना हुने एसियन गेम्स २०२६ अन्तर्गत पुरुष क्रिकेट प्रतियोगितामा नेपालले अफगानिस्तान र आयोजक जापानसँग प्रतिस्पर्धा गर्ने भएको छ ।
बिहीबार सम्पन्न समूह चरणको ड्रअनुसार नेपाल समूह ‘ए’ मा परेको छ । नेपालको समूहमा अफगानिस्तान र आयोजक जापान रहेका छन् ।
नेपालले पछिल्लोपटक सन् २०१४ को टी–२० विश्वकपमा अफगानिस्तानसँग प्रतिस्पर्धा गरेको थियो । उक्त खेलमा नेपालले अफगानिस्तानलाई ९ विकेटले पराजित गरेको थियो । अब १२ वर्षपछि नेपाल र अफगानिस्तान टी–२० अन्तर्राष्ट्रिय मञ्चमा पुनः आमनेसामने हुने भएका छन् ।
प्रतियोगिताको नियमअनुसार समूह ‘ए’ र ‘बी’ बाट शीर्ष दुई–दुई टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् । क्वार्टरफाइनलमा स्थान बनाउन नेपालले समूह चरणमा कम्तीमा एक खेल जित्नुपर्नेछ । नेपालले यसअघि सिंगापुरमा सम्पन्न एसियन गेम्स छनोट प्रतियोगितामा अपराजित रहँदै एसियन गेम्समा आफ्नो स्थान सुरक्षित गरेको थियो ।
यसैबीच, भारत, पाकिस्तान, श्रीलंका र बंगलादेश भने सिधै क्वार्टरफाइनलमा प्रवेश गरिसकेका छन् । प्रतियोगिताको खेल तालिका तथा अन्य विस्तृत विवरण चाँडै सार्वजनिक हुने जनाइएको छ ।