मधेस प्रदेश प्रहरीले सप्तरीबाट ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ । सूचनाका आधारमा सञ्चालन गरिएको विशेष सर्च अभियानका क्रममा प्रहरीले तीनवटा सवारीसाधनबाट ३ हजार ३३२ किलो ४६० ग्राम गाँजा बरामद गरेको जनाएको छ ।
मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार मध्यराति सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ क्षेत्रमा शङ्कास्पद अवस्थामा रहेका तीनवटा स्कारपियो गाडीमा खानतलाशी गर्दा उक्त परिमाणको गाँजा फेला परेको हो ।
प्रहरीका अनुसार बरामद भएका सवारीसाधनमा बा.प्र.०१–०२५ च ०४३६, प्र.१–०४–००१ च १५०७ र बा.प्र.०१–०२९ च ९५८६ नम्बरका स्कारपियो रहेका छन् ।
बरामद गाँजा आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धानका लागि नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ । घटनामा संलग्न व्यक्ति, लागूऔषधको स्रोत र गन्तव्यबारे अनुसन्धान भइरहेको छ भने फरार रहेका व्यक्तिहरूको खोजी कार्यसमेत जारी रहेको बताइएको छ ।
प्रवक्ता ढकालले मधेस प्रदेशमा लागूऔषध नियन्त्रणलाई उच्च प्राथमिकतामा राखेर प्रहरी परिचालन भइरहेको जानकारी दिए । सीमावर्ती क्षेत्रलाई लक्षित गरी नियमित निगरानी, सर्च अभियान तथा विशेष अपरेशन सञ्चालन गरिएकाले पछिल्लो समय ठूलो परिमाणमा लागूऔषध बरामद हुन थालेको उनले बताए ।
यसअघि बुधबार मात्रै प्रहरीले सिराहा जिल्लाबाट ६५३ किलो गाँजा बरामद गरेको थियो । लगातार ठूलो परिमाणमा गाँजा बरामद हुनुले लागूऔषध ओसारपसारमा संलग्न गिरोह सक्रिय रहेको संकेत गरेको प्रहरीको भनाइ छ । प्रहरीले अवैध गतिविधिविरुद्ध अभियानलाई थप प्रभावकारी बनाउँदै कानून उल्लङ्घन गर्नेमाथि कडा कारबाही गरिने जनाएको छ ।