वीरगंजस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि उनका आफन्त र स्थानीयले अस्पतालको आकस्मिक कक्षमा तोडफोड गरेका छन् ।
वीरगंज महानगरपालिका–२५ का ४५ वर्षीय राजकुमार पटेलको शनिबार उपचारकै क्रममा मृत्यु भएपछि आक्रोशित आफन्त र स्थानीयले बिहान करिब ११ बजे अस्पतालको आकस्मिक कक्षमा प्रवेश गरी होहल्ला गर्दै तोडफोड गरेका हुन् । मृतकका आफन्तले चिकित्सकको लापरबाहीका कारण पटेलको मृत्यु भएको आरोप लगाउँदै विरोध प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा आकस्मिक कक्षमा रहेका सामग्रीमा क्षति पुगेको र एक जना घाइते भएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।
घटनापछि केही समय अस्पताल परिसर तनावग्रस्त बनेको थियो । स्थिति नियन्त्रणमा लिन तथा शान्ति सुरक्षा कायम गर्न अस्पताल परिसरमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । वडा प्रहरी कार्यालयका प्रमुख विक्रम सुवेदीका अनुसार उपचारका लागि अस्पताल ल्याइएका पटेलको मृत्युको वास्तविक कारण खुल्न बाँकी रहेको छ ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।