बाराको जीतपुरसिमरा उपमहानगरपालिका–७ रातोपुलस्थित लामो समयदेखि बन्द रहेको श्रीराम खाद्य उद्योगमा भएको चोरी घटनामा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ ।
इलाका प्रहरी कार्यालय जीतपुरका अनुसार उद्योग परिसरबाट १५ वटा विद्युतीय मोटर, एक थान प्यानल बोर्ड, चार वटा फलामका डिस्क, दुई टन कवाडी फलाम, दुई थान बोरिङ, एक थान क्लच प्लेट र पुराना ब्याट्रीलगायत करिब ४ लाख १५ हजार रुपैयाँ बराबरका औद्योगिक उपकरण तथा धातुजन्य सामग्री चोरी भएको थियो ।
उद्योग सञ्चालक रामबाबु प्रसाद साह कलवारले शुक्रबार लिखित उजुरी दिएपछि प्रहरी नायब निरीक्षक उमेश निरौलाको नेतृत्वमा खटिएको टोलीले अनुसन्धान थालेको थियो । प्रहरीका अनुसार विगत तीन वर्षदेखि उद्योग बन्द रहेको र परिसरमा पर्याप्त सुरक्षा व्यवस्था नभएका कारण चोरी गर्न सहज भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
अनुसन्धानका क्रममा चोरी भएका १ हजार ५ सय थान ग्यास चुलोसहित केही सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ । चोरीमा संलग्न रहेको आशंकामा प्रहरीले जीतपुरसिमरा उपमहानगरपालिका–५ का २२ वर्षीय बादल मियाँ, वडा नं. ७ का ३० वर्षीय वृक्ष महतो र २८ वर्षीय राजु जैसवाललाई नियन्त्रणमा लिएको छ । उनीहरूलाई इलाका प्रहरी कार्यालय जीतपुरको हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ ।
प्रहरीले चोरी घटनामा अन्य व्यक्तिहरूको समेत संलग्नता हुन सक्ने आशंका गर्दै बाँकी सामग्रीको खोजी तथा अनुसन्धानलाई तीव्रता दिएको जनाएको छ ।