बाराको करैयामाई गाउँपालिका–८ स्थित नरही चौकदेखि इटहरतर्फ जाने सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।
प्रहरीका अनुसार शनिबार राति करिब ११ बजे नम्बर नखुलेको मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा अन्दाजी २५ वर्षीय उमेश साह सोनार र पवन साह सोनार घाइते भएका थिए ।
घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी गंजभवानीपुरबाट प्रहरी नायब निरीक्षक बहादुर प्रसाद यादवको नेतृत्वमा खटिएको टोलीले घाइते दुवै जनालाई उद्धार गरी उपचारका लागि वीरगञ्ज पठाएको थियो । उपचारका क्रममा आइतबार बिहान करिब १ः२० बजे उमेश साह सोनारको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव वीरगंजस्थित न्युरो अस्पतालमा राखिएको छ ।
दुर्घटनामा घाइते भएका बिश्रामपुर गाउँपालिका–५ इटियाही निवासी अन्दाजी ४० वर्षीय पवन साह सोनारको टाउकोमा गम्भीर चोट लागेको छ । उनको सोही अस्पतालको आईसीयूमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
ठक्कर दिने मोटरसाइकल र चालक घटनापछि फरार रहेको तथा उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।