वीरगंजस्थित नारायणी अस्पतालका चिकित्सकहरूले सामूहिक राजीनामा दिएका छन् ।
गत शनिबार अस्पतालमा भएको तोडफोड, चिकित्सकमाथि भएको कुटपिट तथा त्यसपछि प्रशासनबाट दुर्व्यवहार भएको आरोप लगाउँदै चिकित्सकहरूले प्रमुख जिल्ला अधिकारी (सीडीओ) र जिल्ला प्रहरी प्रमुख (एसपी) को राजीनामा माग गरेका हुन् ।
नारायणी अस्पतालका चिकित्सक डा. उदयनारायण सिंहका अनुसार अस्पतालमा कार्यरत करिब ७० चिकित्सकमध्ये करिब ४० जनाले मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. चित्तरञ्जन साहसमक्ष राजीनामा बुझाइसकेका छन् । बाँकी चिकित्सकको हस्ताक्षर संकलन भइरहेको र सबै चिकित्सकले सामूहिक राजीनामा दिने तयारी गरेको उनले बताए ।
चिकित्सकहरूको आन्दोलनका कारण नारायणी अस्पतालको आकस्मिक सेवासमेत प्रभावित भएको छ । स्वास्थ्य मन्त्रालयले आकस्मिक सेवा सञ्चालन गर्न आग्रह गरेपछि चिकित्सकहरू केही सकारात्मक बने पनि प्रशासनसँगको वार्तापछि अवस्था थप बिग्रिएको डा. सिंहको दाबी छ ।
उनका अनुसार चिकित्सकमाथि आक्रमण गर्ने व्यक्तिलाई पक्राउ गरी कानुनी कारबाही गर्ने प्रतिबद्धता पाएपछि चिकित्सकहरू वार्ताका लागि जिल्ला प्रशासन कार्यालय पुगेका थिए । तर, वार्ताका क्रममा नेपाल चिकित्सक संघका प्रतिनिधिले दोषीमाथि कारबाही नभए प्रशासनिक नेतृत्वको समेत राजीनामा माग्न सकिने बताएपछि सीडीओ आक्रोशित भएको उनले आरोप लगाए ।
डा. सिंहले वार्ताबाट बाहिरिने क्रममा प्रहरीले चिकित्सकहरूलाई घेरा हालेर मोबाइल खोसेको र करिब एक घण्टा नियन्त्रणमा राखेको आरोप लगाए । प्रशासनको व्यवहारपछि यस्तो वातावरणमा काम गर्न नसकिने निष्कर्ष निकालेर सामूहिक राजीनामा दिने निर्णय गरिएको उनले बताए ।
‘अस्पतालभित्र चिकित्सकमाथि आक्रमण हुन्छ, वार्तामा बोलाएर फेरि प्रशासनले नै धम्की दिन्छ भने सुरक्षित वातावरण कसरी हुन्छ? यस्तो अवस्थामा उपचार सेवा दिन सकिँदैन,’ डा. सिंहले भने ।
चिकित्सकहरूले सीडीओ र एसपी पदमा रहुञ्जेल आफूहरू काममा नफर्किने अडानसमेत राखेका छन् । यसैबीच नेपाल चिकित्सक संघले पनि चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र त्यसपछि प्रशासनबाट भएको व्यवहारको विरोध गर्दै मंगलबार देशभर आकस्मिक बाहेकका स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेको छ ।
संघले घटनामा संलग्न दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न, स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न र सुरक्षित कार्य वातावरण बनाउन सरकारसँग माग गरेको छ ।
गत ८ साउनमा वीरगंजस्थित नारायणी अस्पतालमा कार्यरत डा. प्रमोद राममाथि कुटपिट हुनुका साथै स्वास्थ्यकर्मीमाथि आक्रमण र अस्पतालमा तोडफोड भएको थियो । घाइते डा. रामको हाल राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। घटनापछि दोषीमाथि कारबाहीको माग गर्दै चिकित्सकहरूले देशव्यापी रूपमा ओपीडी सेवा बन्द गर्दै आएका छन् ।