वीरगंजस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट तथा दुर्व्यवहारको घटनापछि देशभरका चिकित्सक आन्दोलनमा रहेका बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताल तथा ओपीडी सेवा बन्द नगर्न आग्रह गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा. समीर अधिकारीले मन्त्रालयले अस्पताल बन्द गर्न नभनेको स्पष्ट गर्दै स्वास्थ्य सेवा नियमित रूपमा सञ्चालन हुनुपर्ने बताएका छन् । केही स्थानमा स्वास्थ्य सेवा सञ्चालन भइरहेको उल्लेख गर्दै उनले आन्दोलनका कारण बिरामीको उपचार प्रभावित हुन नहुनेमा जोड दिए ।
मन्त्रालयले विज्ञप्तिमार्फत अस्पताल तथा स्वास्थ्य सेवा अवरुद्ध नगर्न अपिल गरिसकेको छ । चिकित्सकहरूका माग र असन्तुष्टिलाई संवादमार्फत समाधान गर्ने प्रयास भइरहेको प्रवक्ता अधिकारीले बताए । उनका अनुसार स्वास्थ्यमन्त्री, स्वास्थ्य सचिव तथा मन्त्रालयका उच्च अधिकारीहरू चिकित्सकका प्रतिनिधि, स्थानीय प्रशासन र सम्बन्धित निकायसँग निरन्तर सम्पर्क तथा समन्वयमा छन् । विशेषगरी घटनास्थल वीरगञ्जमा स्थानीय प्रशासन, अस्पताल व्यवस्थापन र चिकित्सकबीच पटक–पटक वार्ता भइरहेको र त्यसकै आधारमा समस्या समाधानको प्रयास भइरहेको उनले जानकारी दिए ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. अनुज भट्टचन वीरगञ्ज पुगेर अस्पताल प्रशासन, चिकित्सक तथा अन्य सरोकारवालासँग छलफल गरेको र प्रमुख जिल्ला अधिकारीले स्थानीय तहमा समन्वय गरिरहेको प्रवक्ता अधिकारीले बताए । मन्त्रालयले काठमाडौंस्थित कार्यालयबाट समेत फोन तथा औपचारिक छलफलमार्फत घटनाक्रमको निरन्तर अनुगमन गरिरहेको उनको भनाइ छ ।
घटनामा संलग्न दोषीमाथि कानुनअनुसार कारबाही हुने विषयमा सम्बन्धित निकायसँग समन्वय भइरहेको पनि अधिकारीले बताए । ‘जो दोषी छ, उसलाई कानुनबमोजिम कारबाही हुन्छ । त्यसका लागि आवश्यक समन्वय भइरहेको छ,’ उनले भने ।
यद्यपि, चिकित्सकका मागप्रति मन्त्रालय संवेदनशील रहेको बताउँदै प्रवक्ता अधिकारीले त्यसको असर बिरामीको उपचारमा पर्न नहुने धारणा व्यक्त गरे । अस्पताल आमनागरिकको अन्तिम भरोसाको केन्द्र भएकाले आन्दोलनका नाममा स्वास्थ्य सेवा ठप्प पार्न नहुने मन्त्रालयको भनाइ छ ।
‘चिकित्सकहरूको आफ्नै माग र असन्तुष्टि हुन सक्छ । तर अस्पताललाई आन्दोलनको माध्यम बनाउनु उचित हुँदैन । बिरामीका लागि अस्पताल नै अन्तिम आश्रय हो । स्वास्थ्य सेवा संवेदनशील क्षेत्र भएकाले उपचार सेवा निरन्तर सञ्चालन हुनुपर्छ,’ प्रवक्ता अधिकारीले भने ।
यसैबीच, नारायणी अस्पतालका चिकित्सकहरूले सामूहिक राजीनामा दिँदै आकस्मिक सेवासमेत ठप्प पारेका छन् । चिकित्सकमाथि कुटपिट तथा त्यसपछिको घटनामा प्रशासनले समेत दुर्व्यवहार गरेको आरोप लगाउँदै उनीहरूले प्रमुख जिल्ला अधिकारी (सीडीओ) र जिल्ला प्रहरी प्रमुख (एसपी) को राजीनामा माग गरेका छन् । साथै, चिकित्सकमाथि कुटपिट गर्ने व्यक्तिलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्नुपर्ने उनीहरूको माग छ ।
नेपाल चिकित्सक संघले मंगलबार देशव्यापी रूपमा स्वास्थ्य सेवा बन्द गर्न स्वास्थ्य संस्थाहरूलाई आह्वान गरेको छ । संघको आह्वानअनुसार अधिकांश स्वास्थ्य संस्थाले आकस्मिकबाहेकका सेवा बन्द गरेका छन् । नेपाल चिकित्सक संघका अध्यक्ष डा. बद्री रिजालले सरकारले चिकित्सकका प्रतिनिधिसँग संवाद गरी समस्या समाधान गर्नुपर्ने बताए । चिकित्सकमाथि हुने कुटपिट कुनै पनि अवस्थामा स्वीकार्य नहुने भन्दै उनले दोषीलाई कानुनी कारबाही नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिए ।
‘उचित खालको छलफल भएको छैन । चिकित्सकमाथि कुटपिट कदापि सह्य हुँदैन । कुटपिट गर्नेलाई जेल नहालेसम्म आन्दोलन रोकिँदैन,’ डा. रिजालले भने ।
यसैबीच, नेपाल चिकित्सक संघले आन्दोलनका आगामी कार्यक्रमबारे छलफल गर्न पदाधिकारीहरूलाई बोलाएको छ । छलफलबाट आन्दोलनलाई कसरी अगाडि बढाउने भन्ने विषयमा निर्णय गरिने अध्यक्ष रिजालले जानकारी दिए ।