नारायणी अस्पतालका चिकित्सकमाथि भएको कुटपिटको विरोधमा वीरगञ्जका सरकारी तथा निजी अस्पतालका चिकित्सकहरूले थालेको आन्दोलन चौथो दिन पनि जारी रहँदा बुधबार आकस्मिकसहित सबै उपचार सेवा ठप्प भएका छन् । उपचारका लागि अस्पताल पुगेका बिरामीहरू भने सास्ती खेप्न बाध्य भएका छन् ।
नेपाल चिकित्सक संघको आह्वानमा मंगलबारदेखि देशभर आकस्मिकबाहेकका सेवा बन्द भए पनि वीरगञ्जमा भने चिकित्सकहरूले आइतबारदेखि नै आकस्मिकसहित सबै सेवा बन्द गरेर आन्दोलन गरिरहेका छन् । आन्दोलनरत चिकित्सकहरूले नारायणी अस्पतालको आकस्मिक कक्षमा तोडफोड गर्ने तथा चिकित्सक डा. प्रमोद राममाथि कुटपिटमा संलग्न सबै व्यक्तिलाई पक्राउ गरी कानुनी कारबाही नगरेसम्म सेवा सञ्चालन नगर्ने अडान लिएका छन् ।
नारायणी अस्पतालसँगै वीरगञ्जका निजी अस्पतालहरूमा पनि सोमबारदेखि आकस्मिक सेवा प्रभावित भएको छ । आकस्मिक विभागमा चिकित्सकको अनुपस्थितिका कारण नयाँ बिरामी भर्ना लिन रोक लगाइएको छ । वार्डमा पहिलेदेखि भर्ना भएका बिरामीको उपचार भने स्टाफ नर्स, हेल्थ असिस्टेन्ट र अनमीको भरमा सञ्चालन भइरहेको छ ।
गत शनिबार वीरगञ्ज महानगरपालिका–२५ निवासी ५४ वर्षीय राजकुमार पटेलको उपचारका क्रममा मृत्यु भएपछि उनका आफन्त र स्थानीयले नारायणी अस्पतालको आकस्मिक कक्षमा तोडफोड गरेका थिए। सोही क्रममा डा. प्रमोद राममाथि पनि निर्घात कुटपिट भएको थियो ।
गम्भीर घाइते डा. रामको वीरगञ्जमा तीन दिन उपचार गर्दा पनि स्वास्थ्यमा सुधार नआएपछि सोमबार राति थप उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टर रिफर गरिएको थियो । यसैबीच, नेपाल चिकित्सक संघ, नारायणी शाखा तथा नारायणी अस्पताल प्रशासनले घटनामा संलग्न व्यक्तिविरुद्ध किटानी जाहेरी दर्ता गर्ने तयारी गरेका छन् ।
अस्पतालका प्रवक्ता डा. उदयनारायण सिंहका अनुसार जाहेरी तयार भइसकेको छ भने घटनाको सीसीटीभी फुटेज जिल्ला प्रहरी कार्यालय पर्सालाई उपलब्ध गराइसकिएको छ । अस्पताल प्रशासनले दोषीहरूको पहिचान गरी कानुनी कारबाहीको मागसहित किटानी जाहेरी दर्ता गराउने तयारी गरेको जनाएको छ ।
डा. सिंहले जाहेरी दर्ता भई अनुसन्धान प्रक्रिया अघि बढेपछि बुधबार साँझदेखि नै आकस्मिक सेवा पुनः सञ्चालन गर्ने विषयमा चिकित्सकहरू सकारात्मक रहेको जानकारी दिए ।
उता मृतक राजकुमार पटेलका परिवारले बुधबार प्रमुख जिल्ला अधिकारी भोला दाहालसमक्ष क्षतिपूर्तिको माग गर्दै ज्ञापनपत्र बुझाएका छन् । उनीहरूले उपचारमा संलग्न चिकित्सकमाथि पनि छानबिन गरी आवश्यक कारबाही गर्नुपर्ने, साथै तोडफोड र कुटपिटको आरोपमा पक्राउ परेका वीरगञ्ज महानगरपालिका–२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीसहित तीन जनालाई रिहा गर्न माग गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालले दुवै पक्षसँग निरन्तर छलफल भइरहेको र समस्या समाधानका लागि पहल भइरहेको बताए । उनले चिकित्सकहरूलाई बिरामीको उपचारलाई प्राथमिकतामा राख्दै सेवा पुनः सञ्चालन गर्न आग्रह गरेको जानकारी दिए ।