वीरगंजस्थित नारायणी अस्पतालमा राजकुमार पटेलको मृत्यु भएको घटनालाई लिएर मृतकका परिवार तथा वीरगंज महानगरपालिका–२५ का स्थानीयवासीले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय, पर्सामा ज्ञापनपत्र बुझाएका छन्।
मृतकका परिवार तथा स्थानीयवासीले अस्पतालमा उपचारका क्रममा भएको घटनाबारे सत्यतथ्य सार्वजनिक गर्न, घटनाको निष्पक्ष छानबिन गर्न तथा दोषी देखिएमा सम्बन्धित व्यक्तिमाथि कानुनी कारबाही गर्न माग गरेका छन् । उनीहरूले घटनामा पीडित परिवारलाई न्याय तथा आवश्यक क्षतिपूर्ति उपलब्ध गराउनसमेत प्रशासनसमक्ष आग्रह गरेका छन् ।
ज्ञापनपत्र बुझाउँदै सहभागीहरूले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा हुने लापरबाही तथा गैरजिम्मेवार व्यवहारका कारण सर्वसाधारणले ज्यान गुमाउने अवस्था आउन नहुने बताएका थिए । अस्पतालमा उपचारका लागि पुगेका नागरिकले सहज, सुरक्षित र गुणस्तरीय स्वास्थ्य सेवा पाउने वातावरण सुनिश्चित गर्नुपर्ने उनीहरूको भनाइ थियो ।
यसैबीच, नारायणी अस्पतालमा भएको उक्त मृत्यु प्रकरणलाई लिएर यसअघि पनि मृतकका आफन्त तथा स्थानीयवासीले विरोध जनाउँदै आएका छन् ।
भिडियाे सामाग्री