प्रहरी प्रधान कार्यालयले पर्साका प्रहरी प्रमुख (एसपी)को सरुवा गरेको छ ।
हाल जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी उपरीक्षक (एसपी) सुदीप पाठकलाई सरुवा गर्दै उनको स्थानमा पवनकुमार भट्टराईलाई खटाइएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार भट्टराई यसअघि जिल्ला प्रहरी परिसर काठमाडौंमा कार्यरत थिए । सरुवासँगै एसपी सुदीप पाठकलाई अन्य जिम्मेवारीमा पठाइएको छ ।
यसैगरी, प्रहरी उपरीक्षक दानबहादुर थापालाई जिल्ला प्रहरी परिसर काठमाडौंमा सरुवा गरिएको छ । पर्सामा हालै नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट तथा अस्पतालभित्र भएको तोडफोडको घटनापछि जिल्लाको सुरक्षा व्यवस्थापन र प्रहरी नेतृत्वको भूमिकालाई लिएर विभिन्न तहमा प्रश्न उठिरहेका बेला एसपीको सरुवा भएको हो ।
यद्यपि, प्रहरी प्रधान कार्यालयले सरुवाको औपचारिक कारण सार्वजनिक गरेको छैन ।