वीरगञ्ज महानगरपालिका वडा नं. २५ का वडाध्यक्ष आशुतोष चतुर्वेदी पक्राउको विरोधमा महानगरका सबै ३२ वटै वडा कार्यालयका कामकारबाही अनिश्चितकालका लागि बन्द गरिएको छ ।
वडाध्यक्षहरूले सामूहिक रूपमा विरोध जनाउँदै आजदेखि अत्यावश्यक सेवाबाहेकका सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेका हुन् । वडाध्यक्ष चतुर्वेदीलाई तत्काल रिहा गर्न माग गर्दै उनीहरूले सेवा ठप्प पार्ने निर्णय गरेका छन् । गत साउन ९ गते नारायणी अस्पतालमा उपचारका क्रममा वीरगञ्ज–२५ निवासी राजकुमार कुर्मीको मृत्यु भएको थियो ।
चिकित्सकको लापरवाहीका कारण मृत्यु भएको आरोप लगाउँदै मृतकका परिवार र आफन्तले अस्पतालमा विरोध प्रदर्शन गरेका थिए । उक्त घटनाको न्यायपूर्ण समाधानका लागि पीडित परिवार र प्रशासनलाई सहयोग गर्ने क्रममा वडाध्यक्ष चतुर्वेदीले राखेको धारणा तथा भूमिकालाई लिएर प्रहरीले उनलाई महानगरपालिका कार्यालय परिसरबाटै पक्राउ गरेको आरोप वडाध्यक्षहरूले लगाएका छन् ।
नगरवासीको हकहितका लागि आवाज उठाउने जनप्रतिनिधिमाथि नै प्रहरीले धरपकड गरेको भन्दै वीरगञ्जका सम्पूर्ण वडाध्यक्षहरूले आपत्ति जनाएका छन् । यसअघि साउन १२ गते उनीहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै चतुर्वेदीलाई तत्काल रिहा गर्न प्रशासनसँग माग गरेका थिए । जनप्रतिनिधिको तर्फबाट पटक–पटक ध्यानाकर्षण गराउँदा पनि प्रशासनले वडाध्यक्षलाई रिहा नगरेकाले बाध्य भएर सेवा बन्द गर्नुपरेको वडाध्यक्षहरूले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
वडाध्यक्षहरूले पक्राउ परेका चतुर्वेदीलाई तत्काल सम्मानपूर्वक रिहा नगरिए थप कडा विरोधका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन् । आन्दोलनका क्रममा उत्पन्न हुने कुनै पनि असहज परिस्थितिको जिम्मेवारी स्थानीय प्रशासनले लिनुपर्ने उनीहरूको भनाइ छ ।
वडा कार्यालय बन्द भएपछि वीरगञ्ज महानगरका ३२ वटै वडाबाट प्रवाह हुने सिफारिस, दर्ता लगायतका दैनिक प्रशासनिक काम प्रभावित भएका छन् ।