नेपाल चिकित्सक संघ र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच भएको ५ बुँदे सहमतिपछि वीरगंजस्थित नारायणी अस्पतालको स्वास्थ्य सेवा पुनः सुचारु भएको छ ।
नारायणी अस्पतालबाट सुरु भएको चिकित्सकहरूको आन्दोलन देशव्यापी बनेको थियो । आन्दोलन अन्त्यका लागि नेपाल चिकित्सक संघ र स्वास्थ्य मन्त्रालयबीच बुधबार ५ बुँदे सहमति भएपछि नारायणी अस्पतालको सेवा पनि नियमित रूपमा सञ्चालनमा आएको हो । सहमतिअघि नारायणी चिकित्सक संघ पर्साका अध्यक्ष डा. मनिज गुप्ता र स्वास्थ्यमन्त्री निशा मेहताबीच राष्ट्रिय स्वतन्त्र पार्टी पर्साका सभापति तथा पर्सा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य हरि पन्तको पहलमा करिब १० मिनेट प्रत्यक्ष टेलिफोन संवाद भएको बताइएको छ ।
यसअघि जिल्ला प्रशासन कार्यालय पर्सामा भएको वार्ता निष्कर्षविहीन बनेपछि चिकित्सक संघले पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल र जिल्ला प्रहरी प्रमुख सुदीपराज पाठकमाथि कारबाही नगरेसम्म वार्तामा नबस्ने अडान लिएको थियो । यस विषयलाई समाधान गर्न सांसद हरि पन्तले तीन दिनदेखि काठमाडौंमा रहँदै स्वास्थ्यमन्त्री, स्वास्थ्य सचिव र गृह सचिवसँग निरन्तर समन्वय गरेका थिए । मंगलबार उनले स्वास्थ्यमन्त्रीको कार्यकक्षमै करिब आधा घण्टा छलफल गरी समस्या समाधानका लागि पहल गरेका थिए ।
छलफलका क्रममा नारायणी चिकित्सक संघ पर्साका अध्यक्ष डा. गुप्ताले स्वास्थ्यमन्त्रीसँग कुरा गर्दै प्रमुख जिल्ला अधिकारी भोला दाहाल र प्रहरी प्रमुख सुदीपराज पाठकको सरुवा तथा घटनाका दोषीमाथि कारबाही चिकित्सकहरूको मुख्य ‘बटमलाइन’ रहेको बताएका थिए । आन्दोलनका कारण सर्वसाधारणले भोग्नुपरेको स्वास्थ्य सेवा अवरोधप्रति सांसद हरि पन्तले क्षमा याचना गरेका छन् । उनले घटनामा ज्यान गुमाएका मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।
साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै घटनाका दोषीमाथि कानुनबमोजिम कडा कारबाही हुने विश्वाससमेत व्यक्त गरेका छन् ।