जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाको मुख्य बजार क्षेत्रभित्र निषेधाज्ञा जारी गरेको छ । पछिल्ला दिनमा विकसित सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समितिको निर्णयअनुसार प्रमुख जिल्ला अधिकारी भोला दाहालले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) बमोजिम निषेधाज्ञा जारी गरेका हुन् ।
जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेशअनुसार साउन १५ गते साँझ ५:०० बजेदेखि साउन १६ गते बिहान ६:०० बजेसम्म लागू हुने गरी तोकिएको क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति एकै स्थानमा भेला हुन, सभा, जुलुस, प्रदर्शन तथा कुनै पनि प्रकारका सार्वजनिक गतिविधि गर्न रोक लगाइएको छ ।
प्रशासनका अनुसार निषेधाज्ञा उल्लङ्घन गर्ने व्यक्तिलाई नियन्त्रणमा लिई प्रचलित कानुनबमोजिम कारबाही गरिनेछ ।
प्रशासनले पूर्व: प्रतिमा चोक–बसपार्क बाइपास रोड,
पश्चिम: तिलावे पुल,
उत्तर: गण्डक चोक,
दक्षिण: शंकराचार्य गेट,
निषेधाज्ञा लागू गरेको छ ।
पछिल्ला केही दिनयता सुनसरीमा भएकाे घटना, वीरगञ्जमा चिकित्सकमाथि कुटपिट घटनापछि उत्पन्न विवाद, त्यसको विरोधमा भइरहेका आन्दोलन तथा विकसित सुरक्षा अवस्थालाई ध्यानमा राख्दै प्रशासनले यस्तो निर्णय गरेको बुझिएको छ । वडाध्यक्ष आशुतोष चतुर्वेदी पक्राउ परेपछि स्थानीय जनप्रतिनिधिहरूले आन्दोलन चर्काउँदै आएका छन् भने महानगरका ३२ वटै वडा कार्यालयसमेत अनिश्चितकालका लागि बन्द गरिएका छन् ।
सुरक्षा निकायले सर्वसाधारणलाई अफवाहमा नलाग्न, शान्ति–सुरक्षा कायम राख्न सहयोग गर्न तथा निषेधाज्ञाको पूर्ण पालना गर्न आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयले आवश्यक परे सुरक्षा अवस्थाको समीक्षा गरी थप निर्णय लिने जनाएको छ ।