रौतहटको कटहरिया नगरपालिका–३ बरेडवा टोलमा ७५ वर्षीया वृद्धाको हत्या आरोपमा प्रहरीले उनका १८ वर्षीय नातिलाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार गत १४ साउन बिहीबार साँझ करिब ६ बजे तेतरी खातुन आफ्ना माइलो छोरा शेख निमुदिनको टालीको छानो भएको घरभित्र खाटमा मृत अवस्थामा फेला परेकी थिइन् ।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) शंकरप्रसाद आचार्यको नेतृत्वमा इलाका प्रहरी कार्यालय कटहरियासहितको प्रहरी टोली घटनास्थल पुगेको थियो ।
प्रारम्भिक अनुसन्धानका क्रममा घटना शंकास्पद देखिएपछि प्रहरीले मृतकका नाति साहिद शेखलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो । अनुसन्धानका क्रममा साहिदले नै आफ्नै हजुरआमाको हत्या गरेको तथ्य खुलेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमले जानकारी दिएका छन् ।
प्रहरीले पक्राउ परेका साहिद शेखमाथि थप अनुसन्धान भइरहेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटले शुक्रबार राति विज्ञप्ति जारी गर्दै घटनाबारे थप कानुनी प्रक्रिया अघि बढाइएको जानकारी दिएको छ ।