वीरगंज महानगरपालिका–रानीघाट चोकमा टायर बालेर प्रदर्शन गरिरहेका चार जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सुनसरी र सिरहामा प्रहरीको गोली लागेर तीन युवाको मृत्यु भएको घटनाको विरोधमा शनिबार रानीघाट क्षेत्रमा प्रदर्शन भइरहेको बेला प्रहरीले हस्तक्षेप गर्दै उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
प्रत्यक्षदर्शीका अनुसार जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजु कार्कीको कमान्डमा वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक नवीन थापा मगर र जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक एकनाथ भट्टराईसहितको संयुक्त प्रहरी टोलीले प्रदर्शनकारीलाई रानीघाट चोकबाट नियन्त्रणमा लिएको थियो ।
प्रहरीका अनुसार सार्वजनिक शान्ति तथा सामाजिक सद्भावमा खलल पुर्याउने गतिविधिमा संलग्न चार जनालाई पक्राउ गरिएको हो । पक्राउ परेकाहरू हिन्दू संगठनसँग आबद्ध युवा रहेको बताइएको छ। प्रहरीले भने उनीहरूको नाम सार्वजनिक गरेको छैन ।
यसअघि जिल्ला प्रशासन कार्यालय पर्साले शुक्रबार साँझ ५ बजेदेखि वीरगञ्जमा दोस्रो पटक निषेधाज्ञा जारी गरेको थियो । शनिबार बिहान ६ बजे निषेधाज्ञा हटाइएपछि रानीघाट क्षेत्रमा प्रदर्शन भएको हो ।
प्रदर्शनपछि रानीघाट क्षेत्रको सुरक्षा व्यवस्था थप कडा बनाइएको प्रहरीले जनाएको छ । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।