पर्सा प्रहरीले स्रोत नखुलेको प्रतिबन्धित भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार आइतबार दिउँसो करिब ३:५० बजे इलाका प्रहरी कार्यालय जानकीटोलाबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा जगरनाथपुर गाउँपालिका–२ स्थित नहर सडकखण्डमा ना.१० प ४४६९ नम्बरको मोटरसाइकल रोकी जाँच गरेको थियो ।
जाँचका क्रममा मोटरसाइकलमा सवार मकवानपुर राक्सिराङ गाउँपालिका–२ का ४२ वर्षीय दिपेश हिमडुङ र २६ वर्षीय तिलक हिमडुङको साथबाट स्रोत नखुलेको प्रतिबन्धित भारतीय मुद्रा बरामद गरिएको प्रहरीले जनाएको छ। उनीहरू हाल चितवनको माडी नगरपालिका–९, हनुमानझुलामा बस्दै आएका छन् । प्रहरीका अनुसार उनीहरूको साथबाट भारतीय ५०० दरका ३१६ थान, २०० दरका ७५ थान र १०० दरका ३६५ थान गरी कुल भारतीय २ लाख ९ हजार ५०० रुपैयाँ बरामद भएको छ ।
बरामद गरिएको भारतीय मुद्रा तथा मोटरसाइकल नियन्त्रणमा लिई दुवै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिनुभयो ।