वीरगंजस्थित रक्तसञ्चार सेवा केन्द्रमा गत वैशाखदेखि देखिएको रगत अभावको समस्या साउन महिना बित्न लाग्दासमेत समाधान हुन सकेको छैन ।
केन्द्रका प्राविधिक प्रमुख सौरभराज पाण्डेयका अनुसार महानगरको मुख्य सडक विस्तार अभियानका कारण नियमित रक्तदान कार्यक्रम प्रभावित हुँदा सबै रक्त समूहको रगत अभाव भएको हो । उनका अनुसार वैशाख ६ गतेदेखि सडक विस्तारको काम सुरु भएपछि रक्तदान कार्यक्रम सञ्चालन हुने अधिकांश स्थान प्रभावित भएका छन्। सडक क्षेत्रमा निर्माण कार्य भइरहेका कारण उपयुक्त स्थलको अभाव भएको छ भने विभिन्न सामाजिक तथा स्वयंसेवी संस्थाले पनि कार्यक्रम व्यवस्थापनमा कठिनाइ भोगिरहेका छन्।
पाण्डेयका अनुसार यसअघि जाडो, अत्यधिक गर्मी वा दशैं–तिहारजस्ता चाडपर्वमा मात्र केही समयका लागि रगतको अभाव हुने गरेको थियो । तर यसपटक सडक विस्तारका कारण सिर्जित समस्या चार महिनासम्म लम्बिएको छ । केन्द्रका अनुसार पहिले प्रत्येक महिना १८ देखि २० वटा रक्तदान कार्यक्रम सञ्चालन हुने गरेकामा अहिले त्यो संख्या घटेर आठ वटामा सीमित भएको छ । कार्यक्रम कम हुनुका साथै रक्तदाताको सहभागिता पनि घटेकाले आवश्यक परिमाणमा रगत संकलन हुन नसकेको जनाएको छ ।
हाल केन्द्रमा दैनिक करिब ७० पिन्ट रगतको माग रहे पनि पर्याप्त संकलन हुन नसक्दा सोधभर्ना प्रणालीमार्फत व्यवस्थापन गर्नुपर्ने अवस्था आएको छ । रगत अभावका कारण दुर्घटनाका घाइते, शल्यक्रिया गर्नुपर्ने बिरामी, सुत्केरी, थालासेमिया, क्यान्सर तथा अन्य दीर्घरोगीको उपचार प्रभावित हुन सक्ने भन्दै केन्द्रले समयमै रक्तदान गर्न सबैमा आग्रह गरेको छ ।
केन्द्रले स्थानीय तह, सामाजिक संघसंस्था, उद्योग–व्यवसायी तथा युवा क्लबहरूलाई नियमित रक्तदान कार्यक्रम सञ्चालनमा सहयोग गर्न अनुरोध गरेको छ ।