रौतहटको राजदेवी नगरपालिकामा निर्माण सम्पन्न भएको १५ शय्याको अस्पताल भवन तीन वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन नसकेको भन्दै स्थानीयवासीले गुनासो गरेका छन् ।
अस्पताल सञ्चालनमा नआउँदा सामान्यदेखि जटिल प्रकृतिका बिरामीसमेत उपचारका लागि टाढाका स्वास्थ्य संस्थामा जान बाध्य भएको स्थानीयको भनाइ छ । अस्पताल नहुँदा बिरामी र परिवारले समय, यातायात खर्च तथा उपचार खर्चको अतिरिक्त भार बेहोर्नुपरेको उनीहरूले बताएका छन् ।
विशेषगरी आपत्कालीन अवस्थामा नजिकै स्वास्थ्य सेवा उपलब्ध नहुँदा बिरामीको ज्यान जोखिममा पर्ने गरेको स्थानीयवासीको गुनासो छ ।
यसैबीच, अस्पतालका लागि नेपाल सरकारले स्वास्थ्य उपकरण तथा आवश्यक सामग्री खरिद गर्न विनियोजन गरेको भनिएको करिब एक करोड रुपैयाँको अवस्थाबारे पनि स्थानीयले प्रश्न उठाएका छन् । उक्त रकमबाट के–कस्ता स्वास्थ्य सामग्री खरिद गरियो, ती सामग्री कहाँ प्रयोग भए र अस्पताल सञ्चालनमा किन ढिलाइ भइरहेको छ भन्ने विषयमा सम्बन्धित निकायले स्पष्ट जानकारी नदिएको उनीहरूको आरोप छ ।
स्थानीयवासीले निर्माण सम्पन्न भइसकेको अस्पताल तत्काल सञ्चालनमा ल्याउन माग गरेका छन् । उनीहरूले अस्पताल सञ्चालनमा भएको ढिलाइ, बजेटको उपयोग तथा खरिद गरिएका स्वास्थ्य सामग्रीको अवस्थाबारे निष्पक्ष छानबिन गरी वास्तविकता सार्वजनिक गर्न पनि आग्रह गरेका छन् ।
स्थानीयका अनुसार अस्पताल सञ्चालनमा आए राजदेवी नगरपालिका र आसपासका क्षेत्रका नागरिकले सहज, सुलभ र प्रभावकारी स्वास्थ्य सेवा प्राप्त गर्नेछन् ।