पर्सागढी नगरपालिकाको समन्वय, क्याप्टिभेटिङ इन्टरनेशनल फाउन्डेशनको सहयोग तथा आसमान नेपालको आयोजनामा सञ्चालित ‘शिक्षा, स्वास्थ्य तथा आत्मनिर्भरता कार्यक्रम–४’ अन्तर्गत पर्सागढी नगरपालिका–२ र ४ का १८ जना किशोरीलाई दुई/दुई वटा बङ्गुर वितरण गरिएको छ ।
वडा नं. २ को कार्यालयमा आयोजित कार्यक्रममा पर्सागढी नगरपालिकाका नगरप्रमुख गोकर्ण पाठकले लाभग्राही किशोरीहरूलाई बङ्गुर हस्तान्तरण गर्दै यस कार्यक्रमले किशोरीहरूको आर्थिक सशक्तीकरणसँगै शिक्षालाई निरन्तरता दिन महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।
उनले आर्थिक अभावका कारण धेरै किशोरी विद्यालय छाड्न बाध्य हुने अवस्था रहेको उल्लेख गर्दै बङ्गुरपालनबाट प्राप्त हुने आम्दानीले अध्ययन खर्च व्यवस्थापनमा सहयोग पुग्ने बताए ।
नगरप्रमुख पाठकले भने, "यस्ता कार्यक्रमले किशोरीहरूलाई आत्मनिर्भर बनाउँदै उज्ज्वल भविष्य निर्माण गर्न टेवा पुर्याउँछन् ।"
उनले विशेषगरी दलित समुदायका विपन्न परिवारका किशोरीलाई लक्षित यस्ता कार्यक्रम प्रभावकारी हुने उल्लेख गर्दै अभिभावकलाई आफ्ना छोरीहरूलाई नियमित विद्यालय पठाउन आग्रह गरे। वितरण गरिएका बङ्गुरलाई व्यावसायिक रूपमा पालेर दिगो आम्दानीको स्रोत बनाउन पनि उनले लाभग्राहीलाई सुझाव दिए ।
नगरप्रमुख पाठकले पर्सागढी नगरपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिँदै स्थानीय स्वास्थ्य संस्थामा गर्भवती महिलाका लागि भिडियो एक्स–रे तथा प्रयोगशाला सेवा सञ्चालनमा रहेको बताए ।
वडा नं. २ का अध्यक्ष वीरेन्द्रप्रसाद महतोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आसमान नेपालका कार्यक्रम अधिकृत धर्मेन्द्र चौरसिया, प्रतिमाकुमारी राम, स्थानीय जनप्रतिनिधि, अभिभावक तथा लाभग्राही किशोरीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रम अधिकृत धर्मेन्द्र चौरसियाले बङ्गुर वितरण कार्यक्रमले किशोरीहरूलाई आयआर्जनसँग जोड्दै आर्थिक आत्मनिर्भरता अभिवृद्धि गर्न, विद्यालय शिक्षालाई निरन्तरता दिन तथा उनीहरूको जीवनस्तर सुधार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।