पर्साको जिराभवानी गाउँपालिकाका अध्यक्षको कार्यकक्षमा गत श्रावण १३ गते लगाइएको ताल्चा सर्वपक्षीय छलफल तथा सहमतिपछि खोलिएको छ ।
गाउँपालिकामा देखिएको विवादलाई संवाद र सहमतिमार्फत समाधान गर्ने उद्देश्यले आयोजित सर्वपक्षीय बैठकपछि अध्यक्षको कार्यकक्षको ताल्चा खोलिएको हो। ताल्चा खोलेपछि कार्यकक्षको साँचो प्रमुख प्रशासकीय अधिकृत अमित गिरी र गाउँपालिका अध्यक्षलाई हस्तान्तरण गरिएको छ ।
बैठकमा गाउँपालिकाको आर्थिक वर्ष २०८२/८३ को बजेट, विकास निर्माणका योजना, शिक्षा, स्वास्थ्य, रेडबुक तथा पालिकाका समग्र गतिविधिबारे विस्तृत छलफल भएको थियो । छलफलमा गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत अमित गिरी, उपाध्यक्ष, जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयवासीहरूको सहभागिता रहेको थियो ।
सहभागीहरूले गाउँपालिकाको सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र जनउत्तरदायी बनाउने विषयमा आफ्ना धारणा राखेका थिए । स्थानीय बुद्धिजीवी, समाजसेवी तथा सुरक्षा निकायका प्रतिनिधिहरूको उपस्थितिमा देखिएका समस्या र तिनको समाधानका उपायबारे सकारात्मक छलफल भएको जनाइएको छ ।
छलफलका क्रममा स्थानीय अगुवा कृष्ण चौधरी ले गाउँपालिकाको विकास, सुशासन, पारदर्शिता र जनउत्तरदायित्वलाई प्राथमिकतामा राखेर काम गर्न सम्बन्धित पक्षलाई आग्रह गरे । उनले जनताका चासो, गुनासा र मागलाई समयमै सम्बोधन गर्दै आपसी संवाद र सहमतिका माध्यमबाट समस्या समाधान गर्नु नै सबैभन्दा प्रभावकारी उपाय हुने धारणा व्यक्त गरे ।
सकारात्मक वातावरणमा सम्पन्न छलफलपछि अध्यक्षको कार्यकक्षमा लगाइएको ताल्चाको साँचो सम्बन्धित पक्षलाई हस्तान्तरण गरिएको कृष्ण चौधरीले जानकारी दिए ।
स्थानीयवासीले पनि संवाद र सहमतिमार्फत विवाद समाधान भएकोमा खुसी व्यक्त गर्दै अब गाउँपालिकाले विकास निर्माण, शिक्षा, स्वास्थ्य तथा सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी रूपमा अघि बढाउने अपेक्षा गरेका छन् ।