पर्सा जिल्लामा चालु धान रोपाइँ सिजनअन्तर्गत हालसम्म ९२ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र, पर्साका अनुसार साउन १६ गतेसम्मको तथ्याङ्कले जिल्लामा धान खेती हुने अधिकांश क्षेत्रफलमा रोपाइँ सकिएको देखाएको हो ।
कृषि ज्ञान केन्द्र, पर्साका सूचना अधिकारी उमेश थापा का अनुसार बाँकी आठ प्रतिशत क्षेत्रफलमा पनि यही साताभित्र धान रोपाइँ सम्पन्न हुने अनुमान गरिएको छ ।
उनका अनुसार यस वर्ष समयमै वर्षा हुनुका साथै गण्डक नहरबाट सहज रूपमा सिँचाइ सुविधा उपलब्ध भएकाले किसानले पानीको अभाव झेल्नुपरेन । अनुकूल मौसम र पर्याप्त सिँचाइका कारण अधिकांश किसानले समयमै धान रोपाइँ सम्पन्न गर्न सफल भएका छन् ।
तर रोपाइँ अन्तिम चरणमा पुग्दा पनि किसानहरूले आवश्यक रासायनिक मल सहज रूपमा नपाएको गुनासो गरेका छन् । धान रोपाइँका लागि अत्यावश्यक युरिया, डिएपी र पोटास मलमध्ये विशेषगरी डिएपी मलको अभाव भएपछि किसानहरू समस्यामा परेका छन् ।
आवश्यक मल समयमै उपलब्ध नभएपछि केही किसानले सीमापार भारतबाट समेत रासायनिक मल ल्याएर खेतमा प्रयोग गरिरहेको बताएका छन् ।
हाल कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड ले सहकारी संस्थामार्फत रासायनिक मल वितरण गरिरहेका छन् । तर जिल्लाको मागअनुसार पर्याप्त परिमाणमा मल आपूर्ति हुन नसक्दा किसानहरूले रोपाइँकै समयमा मल अभावको समस्या भोग्नुपरेको हो ।
रोपाइँ सम्पन्न गरेका किसानहरू अब केही सातापछि आवश्यक पर्ने युरिया मलको आपूर्तिप्रति पनि चिन्तित छन्। धान रोपेको करिब २५ दिनपछि युरिया मल प्रयोग गर्नुपर्ने भएकाले त्यसबेला पनि अभाव हुने हो कि भन्ने त्रास किसानमा देखिएको छ। समयमै युरिया उपलब्ध नभए धान उत्पादनमा प्रत्यक्ष असर पर्ने उनीहरूको भनाइ छ ।
कृषि क्षेत्रका सरोकारवालाले रोपाइँ सम्पन्न भइसकेपछि पनि रासायनिक मलको सहज आपूर्ति सुनिश्चित गर्न सरकार तथा सम्बन्धित निकायले तत्काल प्रभावकारी पहल गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । उनीहरूका अनुसार समयमै आवश्यक मल उपलब्ध गराउन सके यस वर्षको अनुकूल मौसम र पर्याप्त सिँचाइको लाभ उठाउँदै पर्सामा धान उत्पादन उल्लेखनीय रूपमा वृद्धि हुने अपेक्षा गरिएको छ ।