पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ सिद्धपुरकी ३७ वर्षीया लक्ष्मी खड्का सिलवालको मृत्यु शङ्कास्पद रहेको भन्दै उनका माइती पक्षले निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन् ।
मृतक सिलवालका माइती पक्षले सोमबार पत्रकार सम्मेलन गर्दै उनको हत्या भएको दाबी गरेका हुन् । उनीहरूले घटनाको सत्यतथ्य अनुसन्धान गरी पीडित परिवारलाई न्याय दिन सम्बन्धित निकायसँग आग्रह गरेका छन् । ठोरी गाउँपालिका–३ रामनगर माइती भएकी सिलवालको शव गत साउन ८ गते बिहान आफ्नै घरछेउमा रहेको गोठमा झुन्डिएको अवस्थामा फेला परेको थियो । घटनापछि प्रहरीले अनुसन्धान अघि बढाए पनि माइती पक्षले भने मृत्युको प्रकृति शङ्कास्पद रहेको भन्दै गहिरो छानबिनको माग गर्दै आएका छन् ।
मृतकका बाबु खड्कबहादुरले छोरीमाथि लामो समयदेखि घरेलु हिंसा हुँदै आएको आरोप लगाए । उनले श्रीमान्ले पटक–पटक कुटपिट गर्ने गरेको र छोरीले आफूलाई ज्यानको जोखिम रहेको बताउँदै आएको दाबी गरे ।
“पहिले पनि उहाँको श्रीमान्ले रातदिन कुटपिट गर्दै आएको थियो । छोरीले मलाई कुन दिन मार्छन् भनेकी थिइन् । उहाँ आफैँ झुन्डिएको भन्ने प्रमाण हामीले देखेका छैनौँ । घटनाको निष्पक्ष छानबिन गरी न्याय दिनुपर्छ,” खड्कबहादुरले भने । माइती पक्षले घटनाको अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय पर्सा र जिल्ला प्रहरी कार्यालय पर्सामा समेत ज्ञापनपत्र बुझाइसकेको जनाएको छ ।
यसैबीच, ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले पनि घटनाको गम्भीर अनुसन्धान आवश्यक रहेको बताएका छन् । उनले लक्ष्मीको मृत्यु सामान्य नभएको र घटनामा पर्याप्त शङ्का रहेकाले सम्बन्धित निकायले गहिरो अनुसन्धान गर्नुपर्ने बताए । प्रहरीले भने घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । शव परीक्षण प्रतिवेदन, घटनास्थलको अवस्था र अन्य प्रमाणका आधारमा थप अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ ।
माइती पक्षले दोषी पहिचान गरी कानुनअनुसार कारबाही नभएसम्म आफूहरूको संघर्ष जारी रहने बताएका छन् ।