बाराको पचरौता नगरपालिकाका नगर प्रमुख जलन्धर सिंह जैसवारले कानुनी व्यवस्था विपरीत विद्यालय कर्मचारीलाई काज फिर्ता नगरी नगरपालिकामै जिम्मेवारी दिएको आरोप लागेको छ ।
शिक्षा विकास तथा समन्वय इकाई, बाराले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालमा परेको उजुरी तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट प्राप्त पत्रका आधारमा पाँच जना कर्मचारीलाई विद्यालयमै काज फिर्ता गर्न निर्देशन दिएको थियो ।
इकाईले २०८१ असार ६ गते गरेको निर्णयअनुसार सम्बन्धित कर्मचारीलाई तीन दिनभित्र आ–आफ्नो विद्यालयमा काज फिर्ता गर्न निर्देशन दिएको थियो । उक्त निर्देशनअनुसार शिक्षा संयोजकको जिम्मेवारीमा रहेका पण्डित त्रिपाठीलाई पचरौता नगरपालिकाले श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय इनर्वा पकडियामा काज फिर्ता गरेको बताइएको छ ।
तर, सोही प्रक्रियामा परेका श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, बेनौलीका विद्यालय कर्मचारी (लेखापाल) मुकेश कुमार सिंहलाई भने हालसम्म काज फिर्ता नगरिएको आरोप छ । सिंहलाई नगरपालिकाले शिक्षा सह–संयोजकको जिम्मेवारीमा राखेको बताइएको छ ।

स्थानीय जानकारहरूले एउटै प्रकृतिको विषयमा फरक–फरक व्यवहार गरिएको भन्दै प्रश्न उठाएका छन् । उनीहरूले मुकेश कुमार सिंह नगर प्रमुख जैसवारका नातेदार रहेको दाबी गर्दै कानुनी निर्देशन कार्यान्वयन नगरी जिम्मेवार पदमा राख्नु प्रशासनिक निष्पक्षता, पारदर्शिता र सुशासनको मर्मविपरीत भएको बताएका छन् ।
यस विषयमा प्रतिक्रिया लिन पचरौता नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वसन्तराज जोशीसँग सम्पर्क गर्ने प्रयास गरिए पनि उनी सम्पर्कमा आउन चाहेनन् । यता शिक्षा विकास तथा समन्वय इकाई, बाराका निमित्त इकाई प्रमुख अशोक कुमार रौनियारले कानुनभन्दा माथि कोही पनि हुन नसक्ने बताएका छन् । उनले सम्बन्धित कर्मचारीलाई विद्यालयमा काज फिर्ता गर्नुपर्ने स्पष्ट पारे ।
उक्त निर्देशन कार्यान्वयन नभएको विषयमा रौनियारले आफू हाल कार्यालयबाहिर रहेको भन्दै कार्यालय फर्किएपछि यसबारे आवश्यक जानकारी लिने बताए । काज फिर्तासम्बन्धी निर्देशन कार्यान्वयन नभएको विषयले पचरौता नगरपालिकाको प्रशासनिक प्रक्रिया र पारदर्शितामाथि प्रश्न उठाएको छ ।