अदालतको फैसला कार्यान्वयन अभियानअन्तर्गत जिल्ला प्रहरी कार्यालय पर्साले विभिन्न मुद्दामा सजाय तथा जरिवाना ठहर भई फरार रहेका १३ जना प्रतिवादीलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको विशेष प्रहरी टोलीले साउन १९ गते उनीहरूलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि पर्सा जिल्ला अदालतमा उपस्थित गराएको हो । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी) तथा प्रवक्ता चक्रबहादुर मल्लका अनुसार पक्राउ परेकामध्ये चेक अनादर मुद्दाका ६ जना, घरेलु हिंसा मुद्दाका ३ जना, कुटपिट मुद्दाका २ जना, चोरी मुद्दाका १ जना तथा विगो भरीभराउ मुद्दाका १ जना रहेका छन् ।
प्रहरीका अनुसार चेक अनादर मुद्दाका प्रतिवादीबाट ८ हजार ५ सय रुपैयाँ, घरेलु हिंसा मुद्दाका प्रतिवादीबाट १५ हजार रुपैयाँ, कुटपिट मुद्दाका प्रतिवादीबाट ६ हजार रुपैयाँ तथा चोरी मुद्दाका प्रतिवादीबाट ५ हजार रुपैयाँ जरिवाना असुल हुन बाँकी रहेको थियो ।
त्यस्तै, विगो भरीभराउ मुद्दाका एक प्रतिवादीलाई दुई वर्ष कैद सजाय तोकिएको थियो । पक्राउ परेका सबै प्रतिवादीबाट कुल दुई वर्ष कैद सजाय तथा ३३ हजार ५ सय रुपैयाँ जरिवाना असुलउपर गर्न बाँकी रहेको प्रहरीले जनाएको छ ।