भारत मौसम विज्ञान विभाग (आईएमडी) ले अगस्ट ६ का लागि भारतका १९ राज्य तथा केन्द्रशासित प्रदेशमा भारीदेखि अति भारी वर्षाको चेतावनी जारी गरेको छ ।
आईएमडीका अनुसार दिल्ली–एनसीआर, उत्तर प्रदेश, बिहार, झारखण्ड, हिमाचल प्रदेश, राजस्थान, मध्य प्रदेश, उत्तराखण्ड, ओडिसा, केरल, कोंकण–गोवा, मध्य महाराष्ट्र तथा गंगीय पश्चिम बंगाललगायतका क्षेत्रमा अत्यधिक वर्षा हुने सम्भावना रहेको छ । साथै, पूर्वोत्तर भारतका विभिन्न राज्यमा पनि भारी वर्षा हुने अनुमान गरिएको विभागले जनाएको छ ।
मौसम विभागले धेरै स्थानमा मेघगर्जनसहित चट्याङ पर्ने तथा ४० देखि ६० किलोमिटर प्रतिघण्टाको गतिमा हावाहुरी चल्न सक्ने चेतावनी दिएको छ । आईएमडीका अनुसार देशभर मनसुन पुनः सक्रिय भएसँगै उत्तर, पूर्व, पश्चिमी तटीय तथा दक्षिणी भारतका विभिन्न क्षेत्रमा वर्षाको गतिविधि उल्लेखनीय रूपमा बढेको छ ।
हाल मनसुनी न्यून चापीय रेखा श्रीगंगानगर, रोहतक, शाहजहाँपुर, सुल्तानपुर, गया र बाँकुडाबाट हुँदै मिजोरमसम्म फैलिएको छ । साथै उत्तर प्रदेश, बिहार तथा पूर्वोत्तर भारतमाथि सक्रिय चक्रवातीय परिसञ्चरण र पश्चिमी विक्षोभको प्रभावका कारण आगामी २४ घण्टामा वर्षा अझ तीव्र हुने सम्भावना रहेको मौसम विभागले जनाएको छ ।
राजधानी दिल्ली र आसपासका क्षेत्रमा बिहीबार पनि वर्षा हुने सम्भावना रहेको छ। आईएमडीले दिल्ली, हरियाणा र चण्डीगढका लागि पनि भारी वर्षाको चेतावनी जारी गरेको छ ।
मौसम विभागका अनुसार बिहानदेखि नै आकाश बदली रहने र दिनभर पटक–पटक वर्षा हुने सम्भावना रहेको छ ।