त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब यात्रुले आफ्नो ब्यागेज (सामान) को अवस्था प्रत्यक्ष हेर्न पाउने भएका छन् । विमानबाट सामान झार्ने क्षेत्र (ब्यागेज ड्रप एरिया) को लाइभ दृश्य आगमन कक्षस्थित ब्यागेज क्लेम क्षेत्रमा देखाउने व्यवस्था सुरु गरिएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल ‘गनेस’को पहलमा सुरु गरिएको यस व्यवस्थाले अन्तर्राष्ट्रिय उडानमार्फत नेपाल आउने यात्रुलाई आफ्नो सामान विमानबाट झारिएपछि ब्यागेज बेल्टसम्म आइपुग्ने प्रक्रियाबारे प्रत्यक्ष जानकारी दिनेछ।
यसअघि विमानबाट झारिएको सामान ब्यागेज बेल्टसम्म आइपुग्न लाग्ने समयबारे यात्रुले कुनै प्रत्यक्ष सूचना पाउने व्यवस्था थिएन। जसका कारण सामानको प्रतीक्षामा रहेका यात्रु अन्योलमा पर्ने र ब्यागेज व्यवस्थापन प्रक्रियाबारे जानकारी नहुँदा असहजता भोग्नुपर्ने अवस्था थियो ।
नयाँ व्यवस्थाअनुसार अब यात्रुले आगमन कक्षमा राखिएका स्क्रिनमार्फत ब्यागेज ड्रप क्षेत्रमा भइरहेको गतिविधि प्रत्यक्ष हेर्न सक्नेछन् । यसबाट विमानबाट सामान झार्ने प्रक्रिया कहाँ पुगेको छ भन्ने जानकारी पाउनुका साथै आफ्नो ब्यागेज प्राप्त गर्न लाग्ने समयको अनुमान गर्न पनि सहज हुनेछ ।
विमानस्थलको सेवा प्रवाहलाई प्रविधिमैत्री, व्यवस्थित र पारदर्शी बनाउने उद्देश्यले यो व्यवस्था लागू गरिएको हो । पछिल्लो समय यात्रु सेवा सुधार, ब्यागेज व्यवस्थापन तथा विमानस्थलको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विषयलाई प्राथमिकता दिइँदै आएको छ ।
ब्यागेज व्यवस्थापनको प्रत्यक्ष दृश्य देखाउने यो नयाँ व्यवस्थाले यात्रुको प्रतीक्षा समयलाई सहज बनाउनुका साथै विमानस्थलको सेवा प्रवाहप्रति यात्रुको विश्वास र पारदर्शिता बढाउने अपेक्षा गरिएको छ ।