बारा । बारास्थित गढीमाई मन्दिर परिसरमा राखिएका दान पेटिका र रसिदबाट ९ लाख ६६ हजार ४१३ रुपैयाँ नगद संकलन भएको छ ।
महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र यादवका अनुसार मन्दिर प्रांगणमा राखिएको ४ वटा दान पेटिकाबाट ७ लाख ३५ हजार ३४१ रुपैयाँ नगद र रसिदबाट २ लाख ३१ हजार ७२ रुपैयाँ संकलन भएको हो । यसका साथै भक्तजनले गढीमाई मातालाई ७ थान सुनका गहना र २६ थान चाँदीका गहना पनि चढाएका छन् ।
संकलित दान रकम र गरगहना मन्दिरको विकासका लागि बनाइएको ‘मास्टर प्लान’ अनुसार भव्य मन्दिर निर्माणमा खर्च गरिने महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र यादवले जानकारी दिए । गढीमाईको पाँच वर्षिय मेला यस वर्ष मंसिर १७ देखि मंसिर ३० सम्म हुने भएको छ । मेला संयोजक उपेन्द्र यादवका अनुसार यो वर्ष एक हजार बिघामा मेला आयोजना हुने र भक्तजनको सुरक्षाका लागि उचित प्रबन्ध मिलाइएको छ ।
साथै, यस वर्षको मेलामा खेलकुदका अन्य सामाग्रीसंगै सातै प्रदेशका कृषिजन्य वस्तुहरू पनि प्रदर्शन गरिने तयारी रहेको छ ।
सम्बन्धित समाचार
गढीमाई मन्दिरमा पञ्चवर्षीय महा मेला शुरु, पञ्चे बाजा सहित भव्य शोभायात्रा
