बारा जिल्लाको प्रसिद्ध गढीमाई मन्दिरमा पञ्चवर्षीय मेलाको बिहीबार विधिवत रूपमा शोभायात्रा निकालिएको छ ।

महागढीमाई नगरपालिकाको बरियारपुरस्थित गढीमाई मन्दिरबाट निस्किएको शोभायात्रामा हजारौं श्रद्धालु भक्तजन सहभागी भएका थिए । मौसम प्रतिकूल भए पनि हजारौँ भक्तजनको सहभागितामा बिहान १० बजे सुरु भएको शोभायात्रामा हात्ती, घोडा, उँट सहित विभिन्न झाँकीहरूले बारा, पर्सा, रौतहट लगायतको जिल्लामा मेला हेर्न नेवता (निमन्त्रणा) दिइएको महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र प्रसाद यादवले बताए ।

पञ्चे बाजा सहित निस्किएको यात्रा २० किलोमिटरको दूरी तय गर्दै पुनः मन्दिरमा आएर सम्पन्न भएको महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र प्रसाद यादवले बताए । मङ्सिरमा लाग्ने पञ्चवर्षीय मेलाको औपचारिक सुरुवात आजैको शोभायात्राबाट शुरु भएको छ ।
विश्व मै सबैभन्दा धेरै पशु बलि दिइने यस मेला महागढीमाई क्षेत्रको सांस्कृतिक तथा धार्मिक महत्त्व झल्काउने महा मेला हो ।



