संघीय संसदको चालु बजेट अधिवेशन दशैंसम्म सञ्चालन हुने भएको छ ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले कार्यव्यवस्था परामर्श समिति बैठकमा अधिवेशन दशैंसम्म चल्ने जानकारी दिँदै प्रभावकारी रूपमा कानुन निर्माणमा सक्रिय हुन आग्रह गर्नुभएको छ ।
मन्त्री गौतमले संसदमा पर्याप्त बिजनेस रहेको उल्लेख गर्दै सरकारले थप विधेयक ल्याउने तयारी गरिरहेको बताउनुभयो ।
“दसैंअगाडिसम्म सदन लगातार चल्छ। बिजनेसको अभाव छैन। ९ वटा विधेयक आइसकेका छन् । सरकारले अझै १५ देखि २० वटासम्म विधेयक ल्याउँछ। लक्ष्य ३० वटासम्म विधेयक ल्याउने हो। प्रभावकारी हिसाबले कानुन निर्माण गर्नुपर्छ,” उहाँले भन्नुभयो ।
कार्यव्यवस्था परामर्श समितिले आगामी १४ साउनदेखि १० भदौसम्मको संसद् बैठकको क्यालेन्डर पारित गरेको छ । पारित कार्यतालिकामा विधेयकलाई प्राथमिकता दिइएको छ ।
संसद् सचिवालयका अनुसार उक्त अवधिमा ९ वटा विधेयकमाथि काम गर्ने कार्ययोजना बनाइएको छ । यस क्रममा मन्त्रीहरूले जवाफ दिने, दुई वटा विधेयक पारित गर्ने, अन्य विधेयकहरू सम्बन्धित समितिमा पठाउने तथा केही सन्धि–सम्झौता प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
तर, पारित क्यालेन्डरमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भने समावेश गरिएको छैन ।