सर्लाहीको लालबन्दी नगर अस्पतालमा शनिबारदेखि मुटुरोगसम्बन्धी विशेषज्ञ सेवा सुरु भएको छ ।
लालबन्दी नगरपालिका, नगर अस्पताल र नेपाल हृदय रोग प्रतिष्ठान सर्लाही शाखाको समन्वयमा कार्डियोलोजी सेवा सञ्चालन गरिएको हो । नगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चन्दन चौधरीका अनुसार अब प्रत्येक महिनाको चौथो शनिबार मुटुरोग विशेषज्ञ डा. सुवास सुवेदीले अस्पतालमा सेवा प्रदान गर्नुहुनेछ ।
भरतपुर सरकारी अस्पतालमा कार्यरत मुटुरोग विशेषज्ञ डा. सुवेदी लालबन्दी नगरपालिका–७ डाँडाटोलका स्थानीय बासिन्दासमेत हुनुहुन्छ । यस क्षेत्रका मुटुरोगीलाई उपचारका लागि टाढा जानुपर्ने बाध्यता कम गर्ने उद्देश्यले उहाँसँग समन्वय गरी नियमित विशेषज्ञ सेवा उपलब्ध गराइएको नगरप्रमुख वासुदेव अधिकारीले बताउनुभयो ।
नगर अस्पतालका अनुसार उच्च रक्तचाप, हृदयघात, मुटुको धड्कनमा समस्या भएका बिरामीले अब लालबन्दीमै विशेषज्ञ सेवा लिन सक्नेछन् । मुटुरोग विशेषज्ञ सेवाका लागि बिरामीले ओपिडी शुल्कबापत एक सय रुपैयाँ तिर्नुपर्ने र आवश्यक परीक्षणका लागि नगर अस्पतालले तोकेको शुल्क लाग्ने डा. चौधरीले जानकारी दिनुभयो ।
नेपाल हृदय रोग प्रतिष्ठानका केन्द्रीय सदस्य बाबुकाजी नुच्छे प्रधानले लामो प्रयासपछि महिनाको एक दिन भए पनि मुटुरोग विशेषज्ञ सेवा उपलब्ध गराउन सफल भएको बताउनुभयो । शनिबार पहिलो दिन नगरप्रमुख वासुदेव अधिकारीको मुटु परीक्षण गर्दै सेवा शुभारम्भ गरिएको थियो । पहिलो दिनमै ५० जनाभन्दा बढी बिरामीले डा. सुवेदीबाट स्वास्थ्य परीक्षण तथा परामर्श लिएको नगर अस्पतालले जनाएको छ ।
बिरामीको चाप बढ्ने देखिएपछि आगामी महिनादेखि अग्रिम नाम दर्ता तथा निश्चित सङ्ख्यामा बिरामीलाई सेवा दिने व्यवस्था मिलाउने तयारी भइरहेको अस्पतालले जनाएको छ ।