राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाहसँग मतभेद बढेको भन्ने चर्चालाई अफवाह मात्र भएको बताएका छन् । रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनपछि पार्टी र सरकारबीच दूरी बढेको भन्ने हल्ला चलिरहेका बेला सभापति लामिछानेले सार्वजनिक कार्यक्रममार्फत त्यस्ता समाचारको खण्डन गरेका हुन् ।
शनिबार नेपाली युवा उद्यमी मञ्चको २२औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै लामिछानेले राजनीतिक असमझदारी, झगडा वा समस्या भएको भन्ने चर्चालाई ‘र्युमर’ अर्थात् अफवाहको संज्ञा दिए ।
“कहिँकतै सुनिन्छ, केही गडबड भयो कि, केही बिग्रियो कि, राजनीतिक रूपमा अप्ठेरो पर्यो कि, झगडा पो पर्यो कि भनेर र्युमरहरू आउँछन् । ती र्युमरहरूलाई स्न्याक्सका रूपमा लिनुहोस्, त्यसको खासै बढी मूल्य छैन,” उनले भने ।
सभापति लामिछानेले रास्वपाले प्राप्त गरेको अवसर गुमाउन नचाहेको बताए । उनले नयाँ पुस्ताको सहभागिता र ४० वर्षमुनिका सांसदहरूको उल्लेख्य उपस्थितिलाई महत्वपूर्ण अवसरका रूपमा व्याख्या गरे । “हामी यो अवसर गुमाउन चाहँदैनौँ। हाम्रो लागि मात्रै होइन, आउने पुस्ताका लागि हो। हामी परिणाम दिन आएका हौँ,” उनले भने ।
उनले सरकारको यात्रालाई सुरक्षित रूपमा गन्तव्यमा पुर्याउने प्रतिबद्धता व्यक्त गरे । कहिलेकाहीँ चुनौती आउन सक्ने भए पनि त्यसलाई व्यवस्थापन गर्दै अघि बढ्ने उनको भनाइ थियो । “कहिलेकाहीँ मौसमका कारण टर्बुलेन्स आउन सक्छ, तर जहाज हल्लियो भन्दैमा दुर्घटना हुन्छ भन्ने होइन । हामी सही नियतका साथ गन्तव्यमा पुर्याउँछौँ,” लामिछानेले भने ।
रास्वपा सभापतिले सरकारले गरेका प्रतिबद्धता पूरा गर्नुपर्ने भन्दै आफूहरू निरन्तर निगरानी र खबरदारी गर्ने बताए । सरकारले गलत बाटो लिए त्यसलाई सच्याउने क्षमता पार्टीसँग रहेको उनको दाबी थियो । “हामीले एक व्यक्तिलाई होइन, इतिहासलाई वाचा गरेका छौँ। त्यसैले प्रतिबद्धताबाट पछि हट्ने छुट कसैलाई छैन,” उनले भने ।
सरकारले चार महिनामै अपेक्षित काम गर्न नसकेको भन्दै आलोचना भइरहेको प्रसंगमा लामिछानेले सरकार क्रमशः काम गरिरहेको दाबी गरे । आगामी दिनमा अझ राम्रो परिणाम देखिने उनको भनाइ थियो ।