सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरूले महिनामा कम्तीमा एक पटक पार्टी केन्द्रीय कार्यालय पुगेर नागरिक, पार्टी नेता तथा कार्यकर्तासँग प्रत्यक्ष संवाद गर्ने भएका छन् ।
रास्वपा सहमहामन्त्री तथा प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहले जनता र पार्टी कार्यकर्ताको आवाजलाई नीति निर्माणसँग जोड्ने उद्देश्यले यस्तो कार्यक्रम सुरु गर्न लागिएको जानकारी दिएका छन् ।
सहमहामन्त्री शाहले आइतबार विज्ञप्ति जारी गर्दै आगामी भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गरिने बताएका हुन् । उनका अनुसार लोकतन्त्रको मर्म निर्वाचित नेतृत्व निरन्तर नागरिकको निगरानी, सुझाव र सम्पर्कमा रहनु भएकाले जनउत्तरदायी, पारदर्शी र परिणाममुखी राजनीतिक संस्कार विकास गर्न कार्यक्रम सुरु गर्न लागिएको हो ।
कार्यक्रमअन्तर्गत सरकारमा सहभागी रास्वपाका मन्त्रीहरू महिनामा कम्तीमा एक पटक पार्टी केन्द्रीय कार्यालयमा उपस्थित भई नागरिक तथा पार्टी पंक्तिसँग प्रत्यक्ष संवाद गर्नेछन् । यसले सर्वसाधारणका समस्या, सुझाव र अपेक्षालाई राज्यको नीति निर्माण तथा कार्यान्वयन तहसम्म पुर्याउने पुलको काम गर्ने विश्वास पार्टीले लिएको छ ।
कार्यक्रमको पहिलो चरणमा मन्त्रीहरूले आम नागरिकसँग प्रत्यक्ष संवाद गर्नेछन् । पार्टी कार्यालयमा हुने उक्त कार्यक्रम साँझ ५ बजेदेखि ६ बजेसम्म सञ्चालन हुनेछ । सो अवधिमा नागरिकले आफ्ना समस्या, गुनासा र सुझावहरू मन्त्रीसमक्ष राख्न सक्ने व्यवस्था मिलाइने जनाइएको छ ।
त्यसपछि दोस्रो चरणमा मन्त्री, पार्टीका केन्द्रीय समिति सदस्य तथा प्रतिनिधिसभा सदस्यबीच छलफल हुनेछ । उक्त बैठकमा नागरिक संवादबाट प्राप्त सुझाव, समसामयिक विषय तथा विभिन्न नीतिगत मुद्दामाथि छलफल गरिने रास्वपाले जनाएको छ ।
रास्वपाका अनुसार यस्ता कार्यक्रमले सरकार र जनताबीचको सम्बन्ध थप मजबुत बनाउने, नीति निर्माणलाई प्रभावकारी बनाउने तथा पार्टी र सरकारबीच समन्वय बढाउने उद्देश्य राखेको छ ।