नेपाल एलपी ग्यास उद्योग सङ्घले पछिल्लो समय एलपी ग्यासको आयात निरन्तर वृद्धि भइरहेकाले उपभोक्तालाई अनावश्यक रूपमा सिलिन्डर सञ्चय (होल्ड) नगर्न आग्रह गरेको छ ।
भारतबाट सहज रूपमा एलपी ग्यास आयात भइरहेको र उद्योगहरूले नियमित रूपमा सिलिन्डर रिफिलिङ गरी बजारमा पठाइरहेकाले आवश्यकताभन्दा बढी ग्यास खरिद नगर्न सङ्घले अनुरोध गरेको हो ।
सङ्घका अध्यक्ष दिवानबहादुर चन्दले जारी गरेको विज्ञप्तिमा उपभोक्ताले अतिरिक्त ग्यास खरिद नगरे हाल देखिएको अभावको समस्या तत्काल समाधान हुने उल्लेख गरेका छन् । आगामी दिनमा पनि ग्यास आपूर्तिमा समस्या नहुने भएकाले अभाव देखिने अवस्था नरहेको सङ्घको भनाइ छ ।
नेपाल आयल निगमको पहलमा भारतका विभिन्न शोधनशालाबाट एलपी ग्यासको आयात सहज रूपमा भइरहेको र पछिल्लो समय आयात करिब १५ प्रतिशतले वृद्धि भएको निगमले जनाएको छ ।
निगमका अनुसार पछिल्लो २२ दिनमा ३९ हजार ७७४ मेट्रिक टन एलपी ग्यास आयात भएको छ । चालु आर्थिक वर्षको साउन महिनामा करिब ५५ हजार मेट्रिक टन ग्यास आयात हुने अनुमान गरिएको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा ४४ हजार ३१८ मेट्रिक टन ग्यास आयात भएको थियो । मागअनुसार ग्यास उपलब्ध गराउन उद्योगहरूले निरन्तर काम गरिरहेको जनाउँदै सङ्घले घरायसी प्रयोग गर्ने उपभोक्तालाई प्राथमिकतामा राखेर ग्यास बिक्री–वितरण गर्न विक्रेताहरूलाई आग्रह गरेको छ ।