प्रधानमन्त्री बालेन्द्र शाह र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ ।
भेटका क्रममा नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्ध, पारस्परिक हित, विकास साझेदारी तथा सहकार्यका विभिन्न विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सो अवसरमा भारतीय राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई नयाँ कार्यकालका लागि शुभकामना दिँदै नेपाल–भारत सम्बन्धलाई थप सुदृढ र प्रगाढ बनाउन भारत प्रतिबद्ध रहेको बताएका थिए ।
प्रत्युत्तरमा प्रधानमन्त्री शाहले भारतसँग नेपालको ऐतिहासिक तथा मित्रवत सम्बन्धलाई उच्च प्राथमिकतामा राख्दै साझा हित, विकास र समृद्धिका क्षेत्रमा सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् ।
भेटमा दुई देशबीचको सहकार्यलाई आगामी दिनमा थप मजबुत बनाउने विषयमा समेत छलफल भएको जनाइएको छ ।