प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहलाई संसद्मा उपस्थित भएर जवाफ दिन बोलाउन सभामुख डोलप्रसाद अर्यालसमक्ष माग गरेको छ ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसद रेनुका काउचाले समय लिएर बोल्दै संसद्मा उठेका प्रश्नहरूको जवाफ दिन प्रधानमन्त्रीलाई रुलिङ गर्न सभामुखसँग आग्रह गरेकी हुन् । उनले प्रधानमन्त्रीलाई संसद्मा बोलाउनु सरकारलाई घेराबन्दी गर्ने उद्देश्य नभई जवाफदेही बनाउन र प्रधानमन्त्री तथा सभामुख पदको गरिमा कायम राख्न खोजिएको बताइन् ।
“सभामुखसमक्ष आग्रह गर्न चाहन्छु, सम्माननीय प्रधानमन्त्रीज्यूलाई रुलिङ गरेर सदनमा जवाफ दिन बोलाउनुहोस्,” सांसद काउचाले भनिन्, “हामी तपाईंलाई घेराबन्दी गर्न होइन, जवाफदेही बनाउन चाहन्छौं । हामी सभामुख र प्रधानमन्त्री पदको गरिमा बचाउन खोजिरहेका छौं । हामी सरकारलाई सफल बनाउन खोजिरहेका छौं ।”
उनले प्रधानमन्त्री शाह एक्लो नभएको भन्दै मुलुकको हितमा अघि बढ्दा प्रतिपक्षले साथ दिने बताइन् । तर संविधानभन्दा माथि कोही नरहेको उनको भनाइ थियो । “प्रधानमन्त्रीज्यू तपाईं एक्लो हुनुहुन्न, मुलुकको हितमा तपाईं अघि बढ्नुस् । प्रतिपक्ष तपाईंको साथमा उभिनेछ । तर संविधानभन्दा माथि कोही छैन,” उनले भनिन् ।
सांसद काउचाले संसद्भन्दा ठूलो राजनीतिक मञ्च अरू नरहेको र राष्ट्रिय हितभन्दा ठूलो कुनै दल नरहेको बताइन् । उनले सचिवालयबाट मात्रै देशको शासन सञ्चालन हुन नसक्ने भन्दै संसद्लाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन् ।
उनले पछिल्लो समय संसद्मा दैनिक रूपमा उठिरहेका सीमा लगायतका विषयमा प्रधानमन्त्री शाहले अनिवार्य रूपमा जवाफ दिनुपर्ने बताइन् ।