अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई पूर्वप्रधानमन्त्रीका स्वकीय सचिवहरूको सम्पत्ति अनुसन्धान सुरु गरेको छ ।
अख्तियारले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव रहेका भानु देउवा तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का स्वकीय सचिव एवं छोरी गंगा दाहालको परिवारको सम्पत्तिमाथि अनुसन्धान थालेको हो ।
अख्तियार स्रोतका अनुसार भानु देउवाको सम्पत्ति विस्तृत अनुसन्धानका लागि आवश्यक विवरण फारम (१३ पाने फारम) भराइसकिएको छ । उजुरीका आधारमा अनुसन्धान अधिकृत तोकेर उनको परिवारको नाममा रहेको सम्पत्तिको छानबिन अघि बढाइएको जनाइएको छ ।
अनुसन्धानका क्रममा भानु देउवा तथा परिवारका सदस्यहरूको बैंक खाता, जग्गा, शेयरलगायत सम्पत्तिको विवरण संकलन गर्ने काम भइरहेको अख्तियार स्रोतले जनाएको छ । यस्तै, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको पछिल्लो कार्यकालकी स्वकीय सचिव गंगा दाहाल र उनका पति जीवन आचार्यको सम्पत्तिमाथि पनि अनुसन्धान सुरु गरिएको छ ।
जीवन आचार्य कोशी प्रदेशसभा सदस्य तथा कोशी प्रदेश सरकारका पूर्वमन्त्रीसमेत हुन् । अख्तियार स्रोतका अनुसार परिवारको सम्पत्ति अनुसन्धानका क्रममा उनी पनि छानबिनको दायरामा आएका हुन् । अख्तियार स्रोतले गंगा दाहाल र जीवन आचार्यको सम्पत्ति अनुसन्धान भानु देउवाको तुलनामा केही अगाडि बढेको जनाएको छ । केही सम्पत्तिको स्रोत खुलाउन थप विवरण माग्ने प्रक्रिया चलिरहेको बताइएको छ ।
यसअघि अख्तियारले पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्यको सम्पत्तिसमेत अनुसन्धान सुरु गरेको थियो । बज्राचार्यलाई अख्तियारको टंगालस्थित कार्यालयमा बोलाएर सम्पत्ति विवरण भराइएको थियो ।