परराष्ट्रमन्त्री शिशिर खनालले आगामी आर्थिक वर्षदेखि परराष्ट्र मन्त्रालयको आफ्नै भवन निर्माण सुरु गरिने बताएका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा मौखिक प्रश्नको जवाफ दिँदै मन्त्री खनालले हाल गृह मन्त्रालय रहेको जग्गामा परराष्ट्र मन्त्रालयको भवन निर्माण गर्ने तयारी भइरहेको जानकारी दिएका हुन् ।
उनका अनुसार भवनको आर्किटेक्चरल ड्रइङ, डिजाइन तथा इन्जिनियरिङका लागि परामर्शदाता छनोट भइसकेको छ भने प्रारम्भिक डिजाइनसमेत तयार भइसकेको छ । चालू आर्थिक वर्षमा भवन निर्माणका लागि ५० करोड रुपैयाँ बजेट विनियोजन गरिएको र आगामी आर्थिक वर्षमा बोलपत्र आह्वान गरी निर्माण कार्य सुरु गरिने मन्त्री खनालले बताए ।
मन्त्री खनालले परराष्ट्र मन्त्रालयमा ऐतिहासिक तथा कूटनीतिक महत्त्वका दस्तावेज संरक्षणका लागि छुट्टै अभिलेख व्यवस्थापन शाखा गठन गरिएको जानकारी पनि दिए ।
पुराना दस्तावेजको खोज, प्रमाणीकरण, डिजिटलीकरण तथा सुरक्षित संरक्षणका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको उनको भनाइ छ । उनका अनुसार नेपाल विभिन्न मुलुक तथा अन्तर्राष्ट्रिय संस्थासँग ६५५ वटा सन्धि–सम्झौतामा पक्ष राष्ट्र रहेको छ । तीमध्ये ४१२ वटा द्विपक्षीय तथा क्षेत्रीय र २४३ वटा बहुपक्षीय सन्धि–सम्झौता रहेका छन् ।
हालसम्म ५५ वटा सन्धि–सम्झौता सम्पन्न वा परिमार्जन भइसकेको र बाँकी ६०० वटा सन्धि–सम्झौतालाई आवश्यकता र औचित्यका आधारमा क्रमशः पुनरावलोकन, परिमार्जन तथा नवीकरण गरिने मन्त्री खनालले बताए ।
मन्त्री खनालले सन्धि–सम्झौताको पुनरावलोकन गर्दा नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखिने स्पष्ट पारे । सम्बन्धित मुलुक तथा अन्तर्राष्ट्रिय संस्थासँग कूटनीतिक माध्यमबाट सहमति जुटाउँदै प्रक्रिया अघि बढाइने उनको भनाइ छ ।