अत्यधिक गर्मीका कारण शरीरमा पानीको मात्रा घट्ने, झाडापखाला, फुड पोइजनिङ, हैजा लगायत पेटसम्बन्धी रोगको जोखिम बढ्ने भएकाले ताजा, स्वच्छ, झोलिलो र पोषिलो खानेकुरा खान चिकित्सकले सुझाव दिएका छन् ।
जनस्वास्थ्यविद् डा. अरुणा उप्रेतीले गर्मी मौसममा स्वास्थ्य जोगाउन पर्याप्त मात्रामा पानी तथा झोलिलो पदार्थ सेवन गर्नुपर्ने र ताजा एवं स्वच्छ खाना खानुपर्ने बताउनुभएको छ ।
उहाँका अनुसार गर्मीमा अत्यधिक पसिना बग्दा शरीरमा पानीको कमी हुन सक्छ। समयमै पानीको मात्रा पूर्ति नगरे बेहोस हुने, लु लाग्ने लगायतका समस्या देखिन सक्ने उहाँको भनाइ छ । विशेषगरी तराईका जिल्लामा गर्मीको प्रभाव बढी हुने भएकाले दिउँसोको समयमा अनावश्यक रूपमा घाममा ननिस्कन र प्रशस्त मात्रामा तरल पदार्थ सेवन गर्न उहाँले आग्रह गर्नुभयो ।
डा. उप्रेतीले लामो समयसम्म राखिएको, बासी तथा झिँगा भन्किएका खानेकुरा सेवन नगर्न सुझाव दिनुभयो। यस्ता खानेकुरामा जीवाणुको वृद्धि हुने सम्भावना बढी हुने भएकाले फुड पोइजनिङ, झाडापखाला र हैजाजस्ता रोग लाग्न सक्ने उहाँले बताउनुभयो । उहाँले खुला स्थानमा बिक्री हुने चाट, पानीपुरी तथा अन्य खुला खानेकुरा स्वादका लागि खाँदा स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै सावधानी अपनाउन आग्रह गर्नुभयो ।
भोजभतेरमा धेरै समयअघि पकाइएका खानेकुरा लामो समयसम्म राखेर सेवन गर्दा पनि स्वास्थ्य जोखिम बढ्ने भएकाले सकेसम्म ताजा पकाएको खाना मात्र खानुपर्ने उहाँको सुझाव छ । गर्मीमा शरीरमा पानीको सन्तुलन कायम राख्न मौसमी फलफूल, काक्रो, दही, मही, नरिवलको पानी, सत्तु, ओट्स, लस्सी, पुदिनायुक्त पानी तथा कागती मिसाएको पानी उपयोगी हुने डा. उप्रेतीले बताउनुभयो ।
झाडापखाला भएमा नुन–चिनी पानी, चामलको माड लगायत झोलिलो पदार्थ सेवन गराउनुपर्ने उहाँले सुझाव दिनुभयो । साथै बजारमा पाइने कोक, फेन्टा लगायत अत्यधिक गुलिया बट्टाबन्द पेय पदार्थको सेवन नगर्न उहाँले आग्रह गर्नुभयो । यस्ता पेय पदार्थमा चिनीको मात्रा धेरै हुने भएकाले दीर्घकालीन रूपमा स्वास्थ्यमा नकारात्मक असर पार्न सक्ने उहाँको भनाइ छ ।
स्थानीय तथा मौसमी फलफूलको नियमित सेवनले शरीरलाई आवश्यक भिटामिन र पोषक तत्व उपलब्ध गराउने, रोग प्रतिरोधात्मक क्षमता बढाउने तथा शारीरिक र मानसिक स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्ने डा. उप्रेतीले बताउनुभयो । उहाँका अनुसार गर्मी मौसममा स्वस्थ रहन खानपानमा विशेष सावधानी अपनाउनु नै सबैभन्दा प्रभावकारी उपाय हो ।