प्रधानमन्त्री वालेन्द्र शाह र सभामुख डोलप्रसाद अर्यालबीच मंगलबार दिउँसो भेटवार्ता भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा संघीय संसदको चालु अधिवेशन, समसामयिक राजनीतिक अवस्था तथा संसद सञ्चालनसम्बन्धी विषयमा छलफल भएको जनाइएको छ । स्रोतका अनुसार भेटका क्रममा सभामुख अर्यालले प्रधानमन्त्री शाहलाई संसदमा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन आग्रह गरेका छन् ।
सभामुखले “संसदमा प्रधानमन्त्रीको खोजी भइरहेको” भन्दै कम्तीमा पनि सदनमा उपस्थित भएर सांसदका जिज्ञासाको जवाफ दिन आग्रह गरेको स्रोतको भनाइ छ । तर, प्रधानमन्त्री शाहले यस विषयमा ठोस जवाफ नदिएको बताइएको छ । प्रतिपक्ष दलहरूले निरन्तर संसदमा प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै आएका छन् ।
यसअघि मंगलबार नै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भरतबहादुर श्वारले प्रधानमन्त्री शाह संसदमा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिनबाट पछि हटिरहेको आरोप लगाएका थिए ।