बजारमा खाना पकाउने ग्यासको अभाव चुलिएर उपभोक्ता घण्टौँ लाइनमा बस्न बाध्य भइरहेका बेला प्रतिनिधिसभाको शून्य समयमा सांसदहरूले सरकारको आपूर्ति तथा वितरण प्रणालीमाथि प्रश्न उठाएका छन् ।
सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले ग्यासको कृत्रिम अभाव, कालोबजारी र वितरण प्रणालीमा देखिएको अव्यवस्थाबारे सरकारको ध्यानाकर्षण गराएका छन् भने विपक्षी सांसदहरूले पनि उपभोक्ताले भोगिरहेको सास्ती तत्काल अन्त्य गर्न माग गरेका छन् ।
रास्वपा सांसद आशिका तामाङले ग्यास अभावको अवस्थालाई कवितात्मक शैलीमा प्रस्तुत गर्दै थानकोट क्षेत्रका नागरिकले ग्यास भर्न बालाजु र टेकुसम्म धाउनुपर्ने अवस्था रहेको बताइन् । उनले भनिन्, “लाग्दछ मलाई रमाइलो मेरै पाखापखेरो, हिमाल फेदीमुन्तिर कहिले बन्छ ग्यास भर्ने पँधेरो ।”
रास्वपाकै सांसद कुसुम महर्जनले बजारमा कृत्रिम अभाव र कालोबजारीका कारण उपभोक्ता महँगो मूल्य तिर्न बाध्य भएको बताइन् । उनले आपूर्ति प्रणालीमा देखिएको संरचनागत समस्या पहिचान गरी समाधान गर्नुपर्ने भन्दै ग्यास कम्पनीहरूसँग तत्काल डिपोअनुसारको वितरण विवरण माग गर्न सरकारसँग आग्रह गरिन् । साथै कृत्रिम अभाव सिर्जना गर्ने र कालोबजारी गर्नेमाथि कारबाही गर्न माग गरिन् ।
यता रास्वपा सांसद अप्सरा बानुले भने ग्यास अभावलाई सरकारको असफलता मात्र भन्न नमिल्ने बताइन् । उनले हाफ सिलिन्डरबाट पुनः फुल सिलिन्डरमा फर्किँदा केही उपभोक्ताले अनावश्यक रूपमा ग्यास सञ्चय गर्दा बजारमा दबाब परेको दाबी गरिन् । उनले बजार अनुगमन प्रभावकारी बनाउन र दोषी देखिए कारबाही गर्न सरकारलाई आग्रह गरिन् ।
विपक्षी नेपाली कांग्रेसकी सांसद गीता गुरुङले सरकारले ग्यास अभाव नरहेको दाबी गरे पनि नागरिकले भने अभाव र सास्ती भोगिरहेको बताइन् । “सरकारले केही समयअघि लाइन होइन, अब अनलाइन भनेको थियो । तर अहिले ग्यासदेखि पासपोर्टसम्म जनता लाइनमा छन्,” उनले भनिन् । उनले आपूर्ति प्रणाली ठीक रहेको भए वितरण किन अस्तव्यस्त भएको भन्दै सरकारसँग प्रश्न गरिन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले उद्योगमन्त्रीले केही स्थानमा ग्यास वितरण गर्दै हिँडेको प्रसंग उल्लेख गर्दै सरकारले प्रणाली सुधार गर्नुपर्ने बताइन् । “मन्त्रीले प्रणाली बलियो बनाउने हो, दुईचार जनालाई दया गरेर ग्यास बाँड्ने होइन,” उनले भनिन् । पछिल्ला केही दिनयता देशका विभिन्न क्षेत्रमा ग्यास अभाव देखिएको छ । सरकार र उद्योगीहरूले भने ग्यास पर्याप्त रहेको दाबी गर्दै आएका छन् ।
भारतबाट आपूर्तिमा समस्या नरहेपछि नेपाल आयल निगमले २०८३ असार ३१ गतेदेखि साबिककै १४.२ किलोको भरिएको सिलिन्डर बिक्री सुरु गरेको थियो । त्यसपछि बजारमा माग बढ्दा पुनः अभाव देखिन थालेको हो ।
विज्ञहरूका अनुसार ग्यासको समस्या आयातमा मात्र नभई सिलिन्डर संख्या, वितरण प्रणाली, भण्डारण क्षमता, ढुवानी संरचना तथा दीर्घकालीन पूर्वाधार व्यवस्थापनको कमजोरीका कारण समेत देखिएको हो ।