प्रधानमन्त्री वालेन्द्र शाहले नेपालका दुई ठूला छिमेकी भारत र चीनका राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । सोमबार सिंहदरबारमा भारतीय राजदूत नवीन श्रीवास्तव र चिनियाँ राजदूत चाङ माओमिङसँग भएको भेटले प्रधानमन्त्री शाहको कूटनीतिक शैलीमा प्रत्यक्ष तथा व्यावहारिक संवादलाई प्राथमिकता दिन थालेको संकेत गरेको छ ।
सरकारको नेतृत्व गरेलगत्तै प्रधानमन्त्री शाहले विदेशी राजदूत तथा कूटनीतिक नियोगका प्रमुखसँग व्यक्तिगत भेटभन्दा सामूहिक संवादलाई प्राथमिकता दिँदै आएका थिए । गत वैशाखमा उनले नेपालमा रहेका विभिन्न मुलुकका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखसँग सामूहिक भेटवार्ता गरेका थिए । त्यसबाट प्रधानमन्त्री शाहले व्यक्तिगत भेटभन्दा संस्थागत प्रक्रिया र कूटनीतिक प्रोटोकललाई प्राथमिकता दिन खोजेको सन्देश गएको थियो । यही शैलीलाई लिएर राजनीतिक तथा कूटनीतिक वृत्तमा सुरुआती चरणमै बहससमेत भएको थियो ।
यसैबीच भारतीय विदेशसचिव विक्रम मिस्रीको जेठ २८ गतेदेखि हुने भनिएको दुईदिने नेपाल भ्रमण अन्तिम समयमा स्थगित भएको थियो । भ्रमण स्थगित हुनुको आधिकारिक कारण सार्वजनिक नभए पनि केही स्रोतले प्रधानमन्त्री शाहसँगको भेटको अनिश्चिततालाई कारणका रूपमा उल्लेख गरेका थिए । यद्यपि, त्यसको आधिकारिक पुष्टि भएको थिएन ।
यस पृष्ठभूमिमा भारत र चीनका राजदूतसँग प्रधानमन्त्री शाहले गरेको छुट्टाछुट्टै भेटलाई सामान्य शिष्टाचार भेटभन्दा अर्थपूर्ण रूपमा हेरिएको छ । यसले प्रधानमन्त्रीले संस्थागत प्रक्रिया र प्रोटोकललाई पूर्णतः त्यागेको नभई आवश्यकताअनुसार प्रत्यक्ष राजनीतिक संवादलाई समेत प्राथमिकता दिन थालेको संकेत गरेको छ ।
भारतीय राजदूत नवीन श्रीवास्तवसँगको भेट प्रधानमन्त्री बनेपछि प्रधानमन्त्री शाहको पहिलो एकल विदेशी राजदूत भेटवार्ता थियो । भेटमा नेपाल–भारत सम्बन्धलाई अझ प्रगाढ बनाउने तथा साझा हितका क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल भएको थियो । राजदूत श्रीवास्तवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शुभकामना प्रधानमन्त्री शाहसमक्ष प्रस्तुत गरेका थिए ।
त्यस्तै, प्रधानमन्त्री शाहले चिनियाँ राजदूत चाङ माओमिङसँग पनि छुट्टै भेटवार्ता गरेका थिए । प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटमा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने, विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने तथा विकास साझेदारीलाई अघि बढाउने विषयमा छलफल भएको थियो । एकैदिन भारत र चीनका राजदूतसँग प्रधानमन्त्रीले छुट्टाछुट्टै भेटवार्ता गर्नुको कूटनीतिक सन्देश पनि महत्त्वपूर्ण मानिएको छ । यसले नेपालले एउटा छिमेकीसँगको सम्बन्धलाई अर्को छिमेकीसँगको दृष्टिकोणबाट नभई दुवैसँग स्वतन्त्र र सन्तुलित रूपमा अघि बढाउन चाहेको देखाउँछ ।
नेपालले भारत र चीनसँगको सम्बन्धलाई सार्वभौम समानता, पारस्परिक सम्मान, पारस्परिक लाभ तथा एकअर्काका जायज चासो र सरोकारप्रति संवेदनशीलताका आधारमा अघि बढाउँदै आएको छ । भारत र चीनसँगको सम्बन्ध नेपालका लागि भूराजनीतिक विषयमा मात्र सीमित छैन । दुवै मुलुकसँगको सम्बन्ध नेपालको आर्थिक रूपान्तरणसँग समेत प्रत्यक्ष रूपमा जोडिएको छ ।
व्यापार विस्तार, लगानी आकर्षण, सम्पर्क सञ्जाल, पर्यटन, प्रविधि हस्तान्तरण तथा विकास सहकार्यका क्षेत्रमा नेपालले दुवै छिमेकीबाट लाभ लिन सक्ने सम्भावना छ । भारतसँग व्यापार, ऊर्जा, पर्यटन, पूर्वाधार तथा सीमापार सम्पर्कका क्षेत्रमा सहकार्यका अवसर छन् भने चीनसँग पूर्वाधार, व्यापार, लगानी, पर्यटन, प्रविधि तथा विकास सहकार्यका सम्भावना छन् ।
सरकारले नेपाललाई भारत र चीनबीचको गतिशील ‘पुल’का रूपमा विकास गर्ने तथा आर्थिक कूटनीतिमार्फत बाह्य सम्बन्धलाई मुलुकको विकाससँग जोड्ने नीति अघि सारेको छ । अब भारत र चीनका राजदूतसँग भएको पछिल्लो प्रत्यक्ष संवादलाई व्यापार, लगानी, ऊर्जा, सम्पर्क, प्रविधि र विकास सहकार्यका क्षेत्रमा ठोस उपलब्धिमा रूपान्तरण गर्नु सरकारका लागि मुख्य चुनौती हुनेछ ।
दुवै ठूला छिमेकीसँग आत्मविश्वासका साथ संवाद गर्ने, नेपालको कूटनीतिक स्वायत्तता कायम राख्ने र राष्ट्रिय हितलाई केन्द्रमा राखेर सम्बन्ध सुदृढ बनाउने नीति नै नेपालको दीर्घकालीन हितमा हुने देखिन्छ । प्रधानमन्त्री शाहका पछिल्ला भेटवार्ताले यही व्यावहारिक र सन्तुलित कूटनीतितर्फ सरकार अघि बढेको संकेत गरेको छ ।