हुलाक सेवालाई आधुनिक, प्रविधिमैत्री र नागरिकमैत्री बनाउँदै ‘सरकारी कुरियर सेवा’का रूपमा विकास गर्ने अभियान तीव्र पारिएको छ ।
सरकारी कागजात, राहदानी, सवारी चालक अनुमतिपत्र तथा शैक्षिक प्रमाणपत्र घरदैलोसम्म पुर्याउने सेवा विस्तार भइरहेको छ । हुलाक सेवा विभागका अनुसार हुम्लाबाहेक ७६ जिल्लामा सरकारी कागजात घरमै पुर्याउने सेवा सञ्चालनमा आइसकेको छ । साउन २७ गतेसम्म ७६ जिल्लामा २ लाख ४७ हजार ४३ थान राहदानी र १० लाख ३८ हजार ८०८ थान सवारी चालक अनुमतिपत्र हुलाकमार्फत ढुवानी गरिएको छ ।
त्यस्तै, नेपाल खुला विश्वविद्यालयका शैक्षिक प्रमाणपत्र, जग्गाधनी पुर्जा तथा विभिन्न स्वास्थ्यसम्बन्धी सामग्रीसमेत हुलाकमार्फत ढुवानी हुन थालेका छन् । सरकारले देशभरका ५० हुलाक कार्यालयलाई ‘स्मार्ट हुलाक’का रूपमा विकास गर्ने प्रक्रिया अघि बढाएको विभागले जनाएको छ ।