भारतीय सेनाका प्रमुख धिरज सेठ चारदिने नेपाल भ्रमणका लागि आइतबार अपराह्न काठमाडौं आउँदै छन् । प्रधानसेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा भारतीय सेना प्रमुख सेठ नेपाल आउन लागेका हुन् ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार भारतीय सेना प्रमुखको भ्रमणका दुई मुख्य उद्देश्य रहेका छन् । पहिलो, नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न ग्रहण गर्नु र दोस्रो, नेपाल–भारतबीचको सैन्य सम्बन्धलाई थप प्रगाढ बनाउनु हो ।
भ्रमणका क्रममा सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा विशेष समारोह आयोजना हुनेछ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय सेना प्रमुख सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने कार्यक्रम छ । नेपाल र भारतबीच एकअर्काका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहँदै आएको छ ।
सोमबार नै जंगी अड्डामा प्रधानसेनापति अशोकराज सिग्देल र भारतीय सेना प्रमुख सेठबीच द्विपक्षीय भेटवार्ता हुनेछ । भेटवार्तामा नेपाल–भारतबीचको सैन्य सम्बन्ध, आपसी सहयोग तथा द्विपक्षीय हितका विषयमा छलफल हुने नेपाली सेनाले जनाएको छ ।
भारतीय सेना प्रमुख सेठको बुधबार स्वदेश फर्किने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।